मुख्यसचिव एकनारायण अर्यालले मुलुकको आर्थिक नीतिमा युवाकेन्द्रित रणनीति अपनाउन जरुरी रहेको बताएका छन्।
शनिबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले युवाको आकांक्षा र राज्यको क्षमताबीचको अन्तर घटाउन रणनीतिक दृष्टिकोण आवश्यक भएको बताए।
‘जेनजी आन्दोलनको सन्देश नै युवाको आकांक्षा र राज्यको क्षमताबीच ठूलो अन्तर छ भन्ने हो,’ अर्यालले भने, ‘अनावश्यक वाचा गर्नु होइन, आफ्नो वास्तविक क्षमता जनतासामु स्पष्ट रूपमा राख्नुपर्छ। युवाहरूको आकांक्षा बढ्दै गएको छ, त्यसलाई सम्बोधन गर्न अब ठोस नीति आवश्यक छ।’
उनले युवाको रोजगारी र अवसर सिर्जनाका निर्णयमा ‘छलाङ मार्नुपर्ने’ बताउँदै थपे, ‘आन्तरिक रोजगारी बढाउने र विदेश जानुपर्ने बाध्यता घटाउँदै जानुपर्छ। विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइन्छ।’
अर्यालले शासन र सेवाप्रतिको जनअपेक्षा बदलिएको उल्लेख गर्दै विगतमा गर्न नसकिएका कामहरू अब गर्नुपर्ने आवश्यकता औंल्याए। ‘यदि अहिले पनि हामीले सुधार गर्न सकेनौं भने भोलि फेरि त्यस्तै आन्दोलन दोहोरिन सक्छ। युवाहरूको सन्देशलाई मनन गर्नुपर्छ,’ उनले भने।
मुख्यसचिव अर्यालले नेपालको विकास मोडल भिन्न र व्यवहारिक हुनुपर्ने पनि बताए। ‘तीन तहका सरकारबीच समन्वय हुन नसक्दा समस्या देखिएका छन्,’ उनले भने, ‘निजी क्षेत्रले कुन तहसँग समन्वय गर्ने भन्ने स्पष्टता नहुँदा पनि चुनौती उत्पन्न भएको छ। फरक-फरक ढंगले गरिने विकासले देशलाई समृद्ध बनाउन सक्दैन।’
Shares

प्रतिक्रिया