समाज


नमोबुद्ध जात्रामा ‘पितृ’का नाममा दीप प्रज्वलन

नमोबुद्ध जात्रामा ‘पितृ’का नाममा दीप प्रज्वलन

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १३:३२, काभ्रे

काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीहरूले ऐतिहासिकस्थल नमोबुद्धमा ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न गरेका छन्। मङ्गलबारदेखि सुरु भएको जात्रा आज बिहान ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै सम्पन्न भएको हो।

कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएका तामाङ र नेवार समुदायका मानिसले आफ्नो पितृको सम्झानामा दुई दिन दुई रात दीप प्रज्वलन गरेका हुन्।

काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीयस्थान नमोबुद्धमा विशेषगरी कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्दै आएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङबज्र लामाले जानकारी दिए।

‘कात्तिक शुक्ल पूर्णिमा तिथिका दिन शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रूपमा मान्दै आइएको छ। किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो । उक्त स्थान ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको शिलालेखमा उल्लेख छन ’ , उनले भने।

द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गरेमा पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास रहिआएको गुठीका अध्यक्ष लामाले बताए। यहाँ दीप प्रज्वलनका लागि बर्सेनि बौद्ध धर्मालम्बीको ठूलो भीड लाग्ने गरेको उनको भनाइ छ।

मेलामा करिब एक हजारले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ। जात्रा अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गरिएको थियो।

नमोबुद्ध गुठीका अध्यक्ष लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा दीप प्रज्वलन गर्नुका साथै सांस्कृतिक गीत तथा नृत्य प्रस्तु गरिएको छ।  ‘यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने र मौक्ष प्राप्त हुने धार्मिक मान्यता छ’ , उनले भने।

मेलामा सिन्धुपाल्चोकसहित सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायत जिल्लाबाट बौद्ध धर्मालम्बीहरूको सहभागिता थियो।

नमोबुद्धका मूल लामागुरु कान्छा लामाका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए। सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गरेको हो।

‘पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो’, लामागुरुले भने। उनकाअनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोहीस्थान नजिकै बाँकी जीवन चैत्य सेवामा बिताएका थिए। तत्पश्चात् राजारानी शङ्खेश्वरी अजी–अजीमाको नामले चिनिँदै आउनुभएको जनविश्वास रहिआएको उनले जानकारी दिए।

नमोबुद्धमा सधैँजसो स्वदेश तथा विदेशका बौद्धमार्गीहरूको चहलपहल हुने गरेको छ। नमोबुद्धबाट ऐतिहासिक पनौतीसहितका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिमश्रृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ। हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad