समाज


कोरोना: अवस्था सुध्रिएपछि इटली र स्पेनमा लकडाउन खुकुलो, बाहिर निस्किन पाएपछि रमाए स्पेनी बालबालिका

कोरोना: अवस्था सुध्रिएपछि इटली र स्पेनमा लकडाउन खुकुलो, बाहिर निस्किन पाएपछि रमाए स्पेनी बालबालिका

नेपालखबर
बैशाख १५, २०७७ सोमबार २:४,

अमेरिकापछि कोरोना महामारीबाट विश्वमै सबैभन्दा पीडित इटली र स्पेनमा पछिल्लो समय अवस्था सुधार हुँदै गएपछि लकडाउनलगायतका प्रतिबन्ध खुकुलो पार्न सुरु गरिएको छ।

यसै क्रममा स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा १ घण्टाका लागि घरबाट बाहिर जान अनुमति दिएको छ। ६ सातापछि सरकारले बाहिर निस्कने अनुमति दिएपछि आइतबार स्पेनमा कैयौं बालबालिका घरबाट बाहिर निस्किएका छन्।

गत २४ घण्टामा स्पेनमा १ महिनायताकै सबैभन्दा कम मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमणबाट २ सय ८८ जनाको मृत्यु भएको छ, जुन मार्च २० तारिखयताकै सबैभन्दा कम हो। कोरोनाका कारण शनिबार त्यहाँ ३ सय ७८ जनाको मृत्यु भएको थियो।

कोरोना संक्रमणका कारण हालसम्म स्पेनमा २३ हजार १ सय ९० जनाको मृत्यु भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै बीबीसीले समाचार लेखेको छ।

यस्तै इटलीमा पनि लकडाउन खुकुलो पार्ने तयारी भइरहेको छ। त्यहाँका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउन खुकुलो पार्ने क्रम सुरू गरिने बताएका छन्।

टेलिभिजनमा सम्बोधन गर्दै उनले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने जानकारी दिएका हुन्।

उनका अनुसार त्यस दिनदेखि नागरिक मास्क लगाएर सानो संख्यामा आफन्तका घर जान पाउनेछन्। पार्क खुला गरिने तर विद्यालय सेप्टेम्बरसम्म नखोलिने बताइएकाे छ।

इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशमध्ये कोरोनाबाट सबैभन्दा धेरै जनाको मृत्यु पनि त्यहीं भएको छ।

इटलीमा अमेरिकापछि विश्वमै सबैभन्दा बढी २६ हजार ६ सय ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

तर हाल त्यहाँ कोरोना संक्रमणले मानिसको मृत्यु हुने क्रम लगातार कम हुँदै गएको बीबीसीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad