छापा खबर


थर्मल गन कालोबजारी प्रकरण : अग्रवालविरुद्ध चारवटा मुद्दा चलाउने प्रहरीको तयारी

थर्मल गन कालोबजारी प्रकरण : अग्रवालविरुद्ध चारवटा मुद्दा चलाउने प्रहरीको तयारी

नेपालखबर
बैशाख १५, २०७७ सोमबार २:५,

थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथिको अनुसन्धानपछि प्रहरीले विभिन्न चारवटा मुद्दा लगाउने गरी प्रतिवेदन तयार गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अग्रवालमाथिको अनुसन्धान सकेर उनीमाथि लगाइने मुद्दाको विषयमा सरकारी वकिलको कार्यालयलाई प्रतिवदेन बुझाउने तयारी गरेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

परिसर काठमाडौंले अग्रवालमाथि कालोबजारी, नाफाखोरी, अवैध भण्डारण तथा कृत्रिम अभावको कसुरमा मुद्दा चलाउने गरी सरकारी वकिल कार्यालयलाई सिफारिस गर्ने तयारी गरेको छ। उनीमाथि तीनदेखि चार वर्ष कैदको माग दाबीसहित मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ।

परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले अग्रवालमाथिको अनुसन्धान सकिएको र सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए। ‘अनुसन्धान सकियो, प्रतिवेदन तयार हुँदै छ । सरकारी वकिल कार्यालयमा केही दिनमा नै बुझाउँछौं,’ परिसर काठमाडौंका प्रवक्ता बोगटीले भने।

नेपालका लागि किर्गिस्तानका अवैतनिक राजदूतसमेत रहेकाले उनीविरुद्ध सार्वजनिक पद दुरुपयोगको कसुरसमेत आकर्षित हुने प्रहरीले जनाएको छ। मुलुकी संहिताअनुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनीउपर कारबाही हुन सक्छ।

प्रहरीले उनको साथबाट २०९ एचसीसी १ नम्बरको कूटनीतिक नियोगको गाडीसमेत नियन्त्रणमा लिएको थियो । सोही गाडीमा थर्मल गन बोकेर हिँडेको अवस्थामा उनी पक्राउ परेका थिए।

उनीमाथि कालोबजारीअन्तर्गतको मुद्दामा एक वर्षसम्म कैद, सार्वजनिक पदको दुरुपयोग गरी अपराध गरे हुने डेढी सजाय, अवैध भण्डारण तथा नाफाखोरीमा एक वर्ष, कृत्रिम अभाव सिर्जनामा एक वर्ष कैद हुन सक्नेछ । त्यस्तै, उनीविरुद्ध १५ लाख रुपैयाँ बढी बिगो मागदाबीसमेत हुन सक्नेछ।

२५ चैतमा ४ हजार ५ सय मूल्य पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लाग्दा ६७ थान थर्मल गनसहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो।

प्रहरी आफैं उनीसँग ग्राहक बनेर थर्मल गन किन्न पुगेको थियो । अनुसन्धानका क्रममा चीनबाट अग्रवालले १२ सय थान थर्मल गन ल्याएको पुष्टि भए पनि उनले बाँकी थर्मल गन के गरे भन्ने अझै रहस्यमय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad