समाज


चरम अस्वच्छता भेटिएपछि ओम अस्पतालको क्यान्टिन  ७ दिनका लागि बन्द

चरम अस्वच्छता भेटिएपछि ओम अस्पतालको क्यान्टिन  ७ दिनका लागि बन्द

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १४:१०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा चरम अस्वच्छता र अनियमितता भेटिएपछि ७ दिनका लागि बन्द गरिएको छ।

महानगरको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले राजधानीका विभिन्न अस्पतालका क्यान्टिनमा खाद्य स्वच्छता अनुगमन गरेको छ। 

अनुगमनका क्रममा उक्त क्यान्टिनमा म्याद गुज्रिएका वस्तु, अनियन्त्रित रूपमा प्रयोग गरिएको खाद्य रंग, अस्वच्छ वातावरण, र पेस्ट कन्ट्रोल प्रणाली कमजोर रहेको पाइएको थियो।

साथै, लेबलविहीन खाद्य पदार्थ प्रयोग गरिएको र व्यवसाय दर्ता पनि नगरिएको पाइएको अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीले जानकारी दिए।

टोलीले म्याद गुज्रिएका ५०० मिलिलिटरका ५ बोतल दूध तत्काल नष्ट गरेको थियो।

ओम अस्पतालका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले भने, ‘क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको छ। आवश्यक मर्मत, रंगरोगन र सरसफाइ पूरा गरी स्वच्छता मापदण्ड पूरा भएपछि मात्र पुनः सञ्चालनमा ल्याइनेछ।’

अनुगमनमा मेडिकेयर अस्पतालको ‘द केयर क्यान्टिन’ र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिन पनि जाँच गरिएको थियो। दुवै क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत राम्रो भए पनि पेष्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक नभएको पाइएको थियो।

मेडिकेयर अस्पतालमा लेबलविहीन खाद्य वस्तु, खुला डस्टबिन, र पिउने पानीमा अमोनियाको मात्रा मापदण्डभित्र भए पनि सुधार आवश्यक रहेको पाइएको थियो। 

टोलीले क्यान्टिन सञ्चालकलाई पेष्ट कन्ट्रोल सुधार गर्ने, लेबलयुक्त प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्ने, अनुमति प्राप्त उद्योगका वस्तु प्रयोग गर्ने, र आगो नियन्त्रणका उपकरण अनिवार्य राख्ने निर्देशन दिएको थियो।

त्यस्तै, हेल्पिङ ह्याण्ड्स अस्पतालमा व्यक्तिगत सरसफाइ सन्तोषजनक भए पनि खाद्य रंगको उचित प्रयोग, लाइसेन्सप्राप्त वस्तुको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपायहरू थप बलियो बनाउन सुझाव दिइएको छ।

काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वच्छ, सुरक्षित र जिम्मेवार खाद्य व्यवसाय सुनिश्चित गर्न अस्पताल, होटल, रेष्टुरेन्ट र क्यान्टिनहरूमा नियमित अनुगमन जारी राख्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad