समाज


टीओबीका सदस्य तेन्जिनको कोठामा भेटियो लागुऔषध, तीनवटा कसुरमा अनुसन्धान

टीओबीका सदस्य तेन्जिनको कोठामा भेटियो लागुऔषध, तीनवटा कसुरमा अनुसन्धान

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार २२:१२, काठमाडौँ

तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामामाथि प्रहरीले तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ। यसअघि अभद्र व्यवहारको कसुरमा मात्रै म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले तेन्जिनको कोठाबाट लागुऔषध बरामद भएसँगै मुद्दा परिवर्तन गरेको हो। 

बिजुलीबजारको पुलमा पेस्तोलसहित देखिएको फोटो भिडिओ सार्वजनिक भएपछि उनलाई प्रहरीले असोज २६ गते पक्राउ गरेर अभद्र व्यवहारमा म्याद थप गर्दै अनुसन्धान अगाडी बढाएको थियो। पेस्तोल नक्कली भएको र फोटो भिडिओ पनि पूरानो भएको पाइएपछि प्रहरीले अभद्र व्यवहारमै म्याद लिइरहेको थियो। 

तर प्रहरीले अनुसन्धान गर्दै जाँदा उनका अरु कसुर फेला पारेको हो। जिल्ला प्हरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतले भने, ‘सुरुमा अन्य कसुरको प्रमाण नभएकाले अभद्र व्यहारमा म्याद लिएका थियौँ तर अब लागुऔषध, लिखत किर्ते र आपराधिक उपद्रवका कसुरमा पनि हामीसँग प्रमाण फेला परेको छ।’

लागुऔषधको कसुरमा अनुसन्धान अगाडी बढाएसँगै प्रहरीले अब ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउनेछ। यसअघि उनको नागरिकतामा पनि प्रस्न उठेको थियो। उनको जन्म मिति र नागरिकतामा फरक फरक विवरण भेटिएपछि प्रहरीले कीर्तेको कसुरमा पनि अनुसन्धान अगाडी बढाएको हो। 

उनको नागरिकता र जन्म मितिको विवरण माग गर्दै प्रहरीले सम्बन्धित वडालाई पत्राचार गरेको थियो। काठमाडौँ महानगरपालिकाको वडा नं ६ ले उक्त विवरण फेला नपरेको जवाफ प्रहरीलाई पठाएको थियो। 

जेनजी आन्दोलन हिंसात्मक बनाउन यो समूहको पनि मुख्य भूमिका देखिएको प्रहरीको दाबी छ। सुरुमा शान्तिपूर्ण रुपमा अगाडी बढेको आन्दोलनलाई २३ गते उग्र बनाउन, निषेधित क्षेत्र तोडेर अगाडी बढ्न मोटरसाइकलसहित ठूलो संख्यामा उत्रिएको यो समूहले उस्काएको भिडिओ सार्वजनिक भएको छ। 

उनीहरू तीब्बतीयन ओरिजिनल ब्लड (टीओबी) लेखेको ज्याकेटसहित सहभागी भएका थिए। जेनजी आन्दोलनमा हिंसात्मक गतिविधि गरेको आरोपमा प्रहरीले २ सय ५० बढीलाई पक्राउ गरिसकेको छ। ती मध्ये केही पुर्पक्षका लागि कारागार चलान भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad