ट्रम्पले शनिबार आफ्नो नियमित पत्रकार सम्मेलन गरेनन्। उनले पत्रकारहरूले शत्रुतापूर्ण प्रश्नमात्रै गरेर समय बेकारमा खर्च गरेको भन्दै शनिवार आफ्नो नियमित पत्रकार सम्मेलन नगरेका हुन्।
गत बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको उपचारमा भाइरस मार्न बाह्यरूपमा प्रयोग गरिने डिसइन्फेक्टर सुईबाट शरीरमा हालेर परीक्षण गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो।
चिकित्सक तथा विज्ञहरुले नै ट्रम्पको भनाई गलत भएको बताएका थिए।
आलोचित बनेसँगै आक्रोशित बनेका ट्रम्पले ट्वीटमा लेखेका छन्,‘कमजोर मिडियाले शत्रुतापूर्ण प्रश्नभन्दा अरू नसोध्ने र सत्य वा तथ्यलाई सही तरिकाले लेख्न अस्वीकार गर्ने भएपछि ह्वाइट हाउसमा समाचार सम्मेलन गर्नुको के उद्देश्य रहन्छ। उनीहरूले कीर्तिमानी रेटिङ पाउँछन् र अमेरिकी नागरिकले मिथ्या समाचारबाहेक केही पाउँदैनन्।’
यसअघि पनि ट्रम्पले पत्रकारको आलोचना गर्दै आएका छन्। उनले केही मिडियालाई लक्षित गर्दै ‘फेक न्युज’ भन्ने शब्दावली दोहोर्याइ रहन्छन्। एजेन्सी
प्रतिक्रिया