थापाथली ट्राफिक प्रभागको कार्यालयमा डोजर चलाउन पुगेको काठमाडौँ महानगरपालिकाको टोली जिल्ला प्रशासन कार्यालयको पत्रपछि फर्किएको छ।
काठमाडौँ महानगरपालिकाले थापाथली ट्राफिक प्रहरी कार्यालय भत्काउने भन्दै खाली गर्न सूचना जारी गरेको थियो। शुक्रबारसँगै रहेका केही भवन भत्काएपछि ट्राफिकलाई पनि खाली गर्न भनिएको थियो।
तर महानगरपालिकाले डोजर चलाउने भनेपछि जिल्ला प्रशासन कार्यलयले तत्काल कार्यालय नभत्काउन अनुरोध गर्दै पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।
‘अहिले ट्राफिक प्रहरी कार्यालयको मुख्य कार्यालय पनि जलेको अवस्थामा छ। यस्तो अवस्थामा भत्काउँन हुँदैन भनेर हामीले महानगरपालिकालाई पत्र पठाएको हो’, रिजालले नेपालखबरसँग भने।
आइतबार महानगरको टोली डोजर लिएर पुगेपछि कार्यालय भत्काउन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदी, काठमाडौँका विभिन्न युनिटका डीएसपीसहितको टोली परिचालन गरिएको थियो।
तर महानगरपालिकाको टोली ट्राफिक प्रहरी कार्यालयसँगै रहेको इरानी चिया रहेको भवन भत्काएर फर्किएको छ। राममन्दीरसँगै रहेको गुठीको जग्गामा नेपाल प्रहरी ५१ वर्षदेखि बस्दै आएको छ। जेनजी आन्दोलनमा ध्वस्त बनाइएको कार्यालय मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको छ।
Shares

प्रतिक्रिया