आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा सुनिश्चित गर्न निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ।
शुक्रबार बसेको बैठकको संयोजक निर्वाचन आयुक्त सगुन शम्शेर जबरा थिए। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकी कुमारी तुलाधर, गृह सचिव रामेश्वर दंगाल, रक्षा सचिव सुमनराज अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर गुरुङको उपस्थिति रहेको थियो।
बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूले योजनाबद्ध रूपमा तयारी सुरु गरिसकेको जानकारी गराइएको थियो। प्रमुख जिल्ला अधिकारीहरूको नेतृत्वमा जिल्ला सुरक्षा समितिले स्थानीय आवश्यकता र संवेदनशील मतदान केन्द्रको आधारमा सुरक्षा योजना बनाइरहेको जनाइएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदानअघि, मतदानको क्रममा र मतदानपछि सुरक्षा सुनिश्चित गर्न सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्न निर्देशन दिए।
आयोगका संयोजक जबराले सबै सरोकारवालालाई समन्वय र योजनाबद्ध रूपमा काम गर्न आग्रह गर्दै, तोकिएको समयमा सुरक्षित निर्वाचन सम्पन्न गर्नु सबैको दायित्व भएको बताए।
Shares

प्रतिक्रिया