एकबारको जुनी हो, कहिले क्यान्सर हुनी हो
मेरो अरु को नै छ र डाक्टर
प्रायः खचाखच भरिने पाटन अस्पतालमा गायक हेमन्त शर्माले यो गीत गाइरहँदा धेरैको ओठमा हल्का मुस्कान फुट्यो। स्तन क्यान्सर भएकी श्रीमतीको उपचार गराईरहेका शर्माले गीत मार्फत आफ्नो पीडा र चिकित्सकप्रतिको भरोसा दर्शाइरहेका थिए।
पाटन अस्पतालको हलमा स्तन क्यान्सर जितेका र क्यान्सरसँग जुधिरहेका धेरै महिला उपस्थित थिए। क्यान्सरबारे जनचेतना फैलाउन गरिएको कार्यक्रममा पुगेका अधिकांशले गीत गाउन शर्मालाई साथ दिए। गीतमा क्यान्सरविरुद्धको लडाइँमा आत्मबल र जीवनप्रेमको सन्देश थियो।
उनको श्रीमतीलाई चौथो पटक किमो दिइएको छ। जब उनले आफ्नी श्रीमतीलाई क्यान्सर भएको थाहा पाए, उनलाई ठूलो बज्रपात पर्यो, सम्हालिन गाह्रो भयो। अहिले श्रीमती सम्हालिरहेका उनले आफू अस्वस्थ हुँदाहुँदै पनि क्यान्सरविरुद्ध सचेतना फैलाउन बोलाउँदा नाइँ भन्न नसकेको बताए।
शर्माले क्यान्सर जो कोहीलाई हुन सक्ने र हुँदैमा हार मान्न नहुने भन्दै गीतमार्फत सन्देश दिइरहँदा त्यहीँ थिइन् शोभा कार्की।
दुई पटक क्यान्सरसँग जुधेकी उनी अहिले क्यान्सर भएको कसरी थाहा पाउने र क्यान्सर लाग्यो भने जीवन कसरी सहज बनाउने भन्ने चेतना फैलाउँदै छिन्।
२३ वर्षको उमेरमा रक्त क्यान्सरसँग जुधेकी शोभा हाल स्तन क्यान्सरसँग लडिरहेकी छन्। रक्त क्यान्सर जितेकी शोभालाई ६ वर्षअघि स्तन क्यान्सर देखिएको थियो। उनी कार्यक्रममा पनि आफ्नो अनुभव सुनाएर क्यान्सर रोगीलाई हौसला दिइरहेकी थिइन्।

पहिलो क्यान्सरलाई जित्न लागेको साहस, फेरि क्यान्सर हुँदाको पीडा र अहिलेको अनुभव उनले सुनाइरहँदा हलमा रहेका अधिकांशको आँखा रसाए। शोभा भने आफूलाई बलियो हरूमा प्रस्तुत गर्दै क्यान्सरसँग लड्न र जित्न सकिनेमा दृढ सुनिइन्। क्यान्सरबारे जनसचेतना फैलाउने कामसँगै उनी हाल ट्राभल एजेन्सीमा काम पनि गरिरहेकी छन्।
पेट असामान्य हरूमा फुल्दै, हातमा निको कालो दाग आउन थालेको थियो। हातमा कालो दाग देख्दा परिवारका सदस्यले ‘तिमीले खाना नपकाऊ, तिमीले पकाएको खान घिन लाग्छ’ भन्दा निकै नराम्रो लागेको उनी बताउँछिन्।
‘एक्लै वीर अस्पताल गएँ, रगत परीक्षण गर्दा चिकित्सकले तिमी तत्काल भर्ना हुनु पर्छ। रक्त क्यान्सर छ भन्नुभयो। त्रिचन्द्र कलेजमा विज्ञान विषयमा स्नातक गर्दै थिएँ, डाक्टरले त्यसो भन्दा त जमिन नै हल्लिए जस्तो भएको थियो नि,’ उनी विगत सम्झँदै सुनाउँछिन्।
‘सन् २०१४ मा रक्त क्यान्सरलाई जितेँ। २०१९ मा स्तन क्यान्सर देखियो, क्यान्सरसँगको मेरो लडाइँ जारी छ,’ आत्मविश्वास साथ आफनो व्यथा सुनाउँछिन्।
शोभाले आफ्नो कथा सुनाइरहँदा हलमै रहेकी जमुना शर्मा ध्यान दिएर सुन्दै थिइन्। २ वर्षअघि स्तन क्यान्सर देखिएको थियो जमुनालाई। शल्यक्रिया, किमोथेरापीबाट उपचार गराइरहेकी उनी क्यान्सर निको हुँदै गएकोमा खुसी छिन्।
‘लक्षण सुरुमा नै पहिचान गर्न सकेको भए अझ छिटो निको हुने थियो,’ उनले भनिन्, ‘काखी वरवर सानो गाँठो आएको थियो। गाँठोलाई बेवास्ता गरियो। बढ्दै गएपछि घर नजिकैको क्लिनिकमा गएँ। क्लिनिकमा पिलो आएको होला भन्दै औषधि दिइयो। औषधिले केही दिन गाँठा हराए जस्तो भयो। केही दिनमा पुनः देखिन थालेपछि मात्र अस्पताल पुगेँ।’

जब उनी अस्पताल पुगिन् र चिकित्सकलाई आफ्नो कथा सुनाइन् चिकित्सकले किन सुरुमै अस्पताल नआएको भन्दै उनलाई प्रश्न गरे। परीक्षण गर्दा उनमा दोस्रो चरणको क्यान्सर पुष्टि भयो।
‘कहिल्यै बाहिरको खाना नखाने, औषधिमा सिटामोल पनि नखाएकोलाई क्यान्सर छ भन्दा त निकै डराएँ। अब बाँच्दिनँ भन्ने लाग्यो,’ उनले भनिन्।
क्यान्सर देखिएपछि उपचारका लागि दिल्ली जाने निर्णय भयो। त्यहाँ उनको शल्यक्रिया भयो र किमो थेरापी दिइयो। चिकित्सकले औषधि पनि खानु पर्छ भने। औषधि भने निकै महँगो।
‘महिनामा डेढ लाखको औषधि खानु पर्यो। उपचारमा नै धेरै खर्च भएका कारण नेपाल फर्किएर फलोअपमा जाने निर्णय गर्यौँ,’ त्यसपछि पाटन अस्पतालमा देखाउन थालेको उनले सुनाइन्।
पाटन अस्पतालमा जाँदा क्यान्सरको निःशुल्क औषधि पाइन्छ भनेर उनलाई चिकित्सकले सल्लाह दिएका थिए। पाटन अस्पतालले अमेरिकाको म्याक्स फाउन्डेसनले प्रदान गरेको औषधि निशुल्क प्रदान गर्दै आएको छ।
‘महिनाको १ लाख ५० हजार खर्च हुने औषधि निःशुल्क पाइन्छ भनेपछि त मेरो खुसीको सीमा नै रहेन नि,’ जमुना खुसी हुँदै सुनाउँछिन्, ‘अहिले नियमित औषधि सेवन गर्छु। चिकित्सकले निको हुन्छ भन्नु भएको छ। अब बाँच्छु भन्ने लागेको छ।’
६ वर्षअघि स्तन क्यान्सर देखिएकी तृष्णा गुरुङले पनि क्यान्सर जितेकी छिन्। दोस्रो चरणको स्तन क्यान्सर कसरी जितेकी थिएँ भनेर उनले कार्यक्रममा सुनाइन्। उनले पनि म्याक्स फाउन्डेसनबाट आएको निःशुल्क औषधि पाएकी थिइन्।
‘शल्यक्रिया र औषधिको सेवनबाट क्यान्सर निको भयो। क्यान्सर निको हुने रोग हो, डराउनु हुँदैन,’ उनले भनिन्।

त्यस्तै, स्तन क्यान्सर जितेकी प्रमिता खनाल क्यान्सर रोगीको मानसिक स्वास्थ्यको ख्याल राख्नु पर्ने बताउँछिन्। १५ वर्षअघि क्यान्सर लागेर उपचार गराएकी प्रमिता क्यान्सर रोगीको मानसिक स्वास्थ्य निकै कमजोर हुने हुनाले परिवार र नजिकका आफन्तको साथ आवश्यक पर्ने बताउँछिन्।
‘क्यान्सर भन्नेबित्तिकै धेरै बिरामी प्राणघातक रोग भन्दै डराउँछन्। उनीहरुलाई क्यान्सर निको हुन्छ भनेर आत्मबल बढाउने, सकारात्मक ऊर्जा दिने मान्छे चाहिन्छ,’ उनी भन्छिन्, ‘किमो, रेडियोथेरापी र औषधिले निकै कमजोर बनाएको अवस्थामा मानसिक स्वास्थ्य निकै कमजोर हुन्छ, सो समय परिवारको साथ नभए भने झन् अवस्था नाजुक हुन्छ।’
क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रताप बराल स्तन क्यान्सर पूर्ण हरूमा निको हुने क्यान्सर भएकाले समयमा नै पहिचान गरेर उपचार गर्न चेतना फैलाउनु पर्ने बताउँछन्।
‘ब्रेस्ट क्यान्सरमा जिरो स्टेज पनि हुन्छ। समयमै पत्ता लाग्यो भने शत प्रतिशत निको हुने सम्भावना हुन्छ,’ डा. बरालले भने।
ढिलो विवाह गर्ने, विवाह नै नगर्ने, स्तनपान नगराउने महिला स्तन क्यान्सरको जोखिममा रहेको डा बराल बताउँछन्। उनले नेपालमा प्रायः वंशाणुगत कारण, विवाह नगरेका वा ढिलो विवाह गर्ने महिलामा यो रोग बढी देखिने बताए।
‘ढिलो विवाह गर्ने र स्तनपान नगराउने महिला बढी जोखिममा हुन्छन्। जसका कारण ३५ वर्षे नकट्दै विवाह गरेर सन्तान जन्माउनु पर्छ,’ उनी थप्छन्, ‘अविवाहित महिला स्तन क्यान्सरको उच्च जोखिममा हुन्छन्।’
बराल अनुभव सुनाउँदै भन्छन्, ‘विवाह गर्ने–नगर्ने महिलाको आफनो स्वतन्त्रताको विषय हो। तर, क्यान्सरको जोखिममा अविवाहित महिला बढी हुन्छन्।’
सानै उमेरमा स्तन क्यान्सर देखिन थालेको भन्दै उनले १५–१६ वर्षको उमेरमा क्यान्सर देखिए निको हुने सम्भावना कम हुने बताए।

पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही स्तन क्यान्सर सजिलै पत्ता लगाउन सकिने भन्दै आफनो शरीरमा भएको परिवर्तन ख्याल राख्न आग्रह गर्छन्।
डा शाही भन्छन्, ‘स्तन क्यान्सर सजिलै पहिचान हुने हुँदा समय समयमा आफनो स्तन आफैँले छाम्ने, स्तन वरपर गाँठागुँठी आए तत्काल चिकित्सकको सम्पर्कमा जाने गर्नुपर्छ।’
तथ्यांकअनुसार डेढ दशकअघि नेपालमा प्रतिवर्ष औसत १५ सय नयाँ स्तन क्यान्सरका बिरामी देखिन्थे भने हाल औसत दुईदेखि तीन हजार नयाँ स्तन क्यान्सर रोगी देखा पर्ने गरेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा स्तन क्यान्सरबाट ६ लाख ७० हजारको मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया