जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार (कात्तिक १५) बिहानदेखि मौसम क्रमश: सुधार हुँदै जाने प्रक्षेपण गरेको छ।
महाशाखाका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपास ‘न्यूनचापीय क्षेत्र’ (एक प्रकारको मौसम प्रणाली) का रूपमा छ। नेपालको मौसममा यस प्रणालीको असर शुक्रबार साँझसम्म रहने र यसपश्चात् मौसम क्रमिक रूपमा सुधार हुने देखिन्छ।
हाल (बिहीबार बेलुका) भने कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ।
आज राति (रातभर) कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका अधिकांश स्थान, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षा जारी रहने सम्भावना छ। साथै कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यसैगरी राति देशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ भने कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया