कोरोना संक्रमण आशंकामा र्यापिड डायग्नस्टिक (आरडिटी) किटबाट रगत परीक्षण गर्दा लगातार तीनपटक पाेजिटिभ देखिएकी वीरगन्जकी एक युवतीको मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका-१० अशोकबाटिका टोलकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो।
आरडीटी परीक्षणमा लागातार तेस्रो रिपोर्ट पोजिटिभ देखिएकी ती युवती ब्लड क्यान्सरबाट पनि पीडित थिइन्। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो।
शनिबार बिहानैदेखि स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई वीरगन्जकै तराई हस्पिटल लगेका थिए।
कारोना हाे कि भनेर आरडिटी जाँच गर्दा पोजेटिभ रिपोर्ट आएपछि नारायणी अस्पतालका चिकित्सकको टोली त्यहाँ पुगेको थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायका अनुसार लगत्तै टोलीले पनि युवतीको आरडिटी परीक्षण गर्दा नतिजा पाेजिटिभ नै देखिएको थियो। त्यसपछि उनकाे थ्राेट स्वाब पिसिआर परीक्षणका लागि हेटौँडास्थित प्रयोगशाला पठाइएको छ। त्यसकाे रिपाेर्ट आउन बाँकी छ।
उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको डा. उपाध्यायको भनाइ छ। अहिले ती युवतीकाे शव नारायणी अस्पतालमै राखिएकाे छ।

प्रतिक्रिया