समाज


हराउँदै तिहारको मौलिकताः अंग्रेजी र हिन्दी गीतमा देउसीभैलो

हराउँदै तिहारको मौलिकताः अंग्रेजी र हिन्दी गीतमा देउसीभैलो

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार १२:३, ढोरपाटन (बागलुङ)

तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ। जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ। यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ। यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन्। 

गाउँ, टोल र छिमेक भैलीमय बनेको छ। तर देउसीभैलोको मौलिकता भने हरेक वर्ष हराउँदै गएको छ। एक सातादेखि बागलुङ बजारका चोकचोकमा देउसीभैलो खेल्नेहरूको भीड लागेको छभने गाउँमा पनि उस्तै छ।

भैलो खेल्दा गाउने गीत र नाचिने नाचमा अचेल कुनै मौलिकता भने देख्न पाइँदैन। तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन्। तर भैलो खेल्नेहरूले ती वाद्यवादनका सामग्री बजाउन जोडेका स्थानीय ज्येष्ठ नागरिक बताउँछन्। पुराना सोरठी, मारुनी र कौरा नाच पनि देखाउने गरेको पाइँदैन। यानीमाया, सुनियामा र झ्याउरे गीत पनि सुनिदैन। 

पछिल्लो समय गाउँघरमा ‘रेकर्डेड’ पप, आधुनिक र ¥याप गीतमा देउसीभैलो खेल्ने र नाच्ने प्रचलन बढेको निसीखोला गाउँपालिका–४ का थमबहादुर पुन मगरले बताए। तिहार पर्व र देउसीभौलोमा गाइँने मौलिक गीत लोप हुँदै जानुका साथै आधुनिकताले प्रभावित गरेको उनको भनाइ छ।

‘पहिले देउसीमा नाचिने सोरठी, मारुनी नाच अहिले देख्न पनि छाडिसके। पप, ¥याप र विदेशी भाषाका गीतमा नाच्ने उनीहरूको पहिरनमा मौलिक संस्कृति झल्कने त कुरै भएन। उनीहरूले आधा शरीर पनि नढाक्ने कपडा लगाएका हुन्छन्। केही त अझ परिवारसँगै भएर हेर्नसमेत नसकिने हुन्छन्’, मगरले भने।

पश्चिमा संस्कृतिको प्रभावले देउसीभैलोको मौलिकता हराउँदै गएको उनको भनाइ छ। घर्तीमगरले मादल, बाँसुरी, खैँजडीलगायतका बाजाको माध्यमबाट कथाव्यथा प्रस्तुत हुने देउसीभैलोमा हिजोआज विकृति मिसिएको बताए।

‘हामीहरू मारुनी, सोरठी नाच्ने गथ्र्यौँ, अचेल हरेक वर्ष देउसीभैलोमा मौलिकता हराउँदै गएको छ, बजारमा गीत बजाएर नाचेर भैलो खेले पनि गाउँमा त्यो चलन आइसकेको थिएन, तर अहिले गाउँमा पनि भित्रिसक्यो,’ उनले भने, ‘हाम्रा पालमा देउसीभैलोमा मादल, बाँसुरी, खैजडी बजाएर नाच्ने, मौलिक गीतहरू गाउने गरिन्थ्यो, अहिले ती गीत सुन्नै छाडियो, सायद अब सुनिदैनन्।’

एक दशक अगाडिसम्म मौलिक गीत, बाजा र कपडा पहिरिएर देउसीभैलो खेले पनि अहिले दुर्गम गाउँबाहेक अरु ठाउँमा देख्न नपाइने बडिगाड गाउँपालिका–८ का प्रेमबहादुर काउचाले बताए। आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उनको भनाइ छ। 

तिहार पर्व र देउसीभैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान गुम्ने खतरा बढेको उनले बताए। मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो नहुँदा पश्चिमा संस्कृति हाबी भएको काउचाको बुझाइ छ। स्थानीय तहले कला, संस्कृति संरक्षण अभियान सञ्चालन गरी युवा पुस्तामा हस्तान्तरण गरेमा मौलिक परम्परा जगर्ने हुने उनको भनाइ छ।

उनले भने, ‘अहिले तिहारमा गीत गाउन पनि नपर्ने बजाउन पनि नपर्ने, साउण्ड सिस्टममा गीत बजायो नाच्यो, गीत पनि केके हुन् केके केही बुझिदैन। हामीहरू पुरानो संस्कृतिअनुसार देउसीभैलो खेल्थ्यौँ, बाउबाजेले हामीहरूलाई सिकाउनुभयो, उहाँहरूले सिकाएको संस्कार अहिलेसम्म रह्यो, अहिले हाम्रा कयौँ संस्कृतिहरू लोप भएका छन्, कयौँ लोप हुने अवस्थामा पुगेका छन्।’ यस्ता कला, संस्कृति र मौलिकता संरक्षण सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad