समाज


तिहारका लागि विद्यालयमै सयपत्री फूल

तिहारका लागि विद्यालयमै सयपत्री फूल

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १३:१५, राँझा (बाँके)

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कण्ठिपुरले तिहारमा सयपत्री फूल उत्पादन गरेर बिक्री वितरण गरेको छ। 

विद्यालय परिसरमा खेर गएको जमिनको सदुपयोग गर्दै शिक्षक र विद्यार्थी मिलेर गत वर्षदेखि सुरु गरिएको फूलखेतीले विद्यालयलाई अतिरिक्त आम्दानीको स्रोतसँगै विद्यार्थीलाई व्यवहारिक ज्ञानसमेत दिएको विद्यालयका प्रधानाध्यापक शङ्कर चन्दले बताए।

उनका अनुसार करिब दुई कट्ठा जमिनमा फूलखेती गरिएको हो। यो खेतीमा विद्यार्थीहरूको श्रम परेको छ भने विद्यालयले फूलको बिरुवा र व्यवस्थापनमा सहयोग गर्दै आएको छ। प्रधानाध्यापक चन्दले गत वर्षको उत्पादन सन्तोषजनक रहेको बताउँदै भने, 'गतवर्ष धेरै राम्रो उत्पादन भएको थियो।' उनका अनुसार गत वर्ष करिब डेढ क्वीन्टल फूल उत्पादन गरी बिक्री वितरण गरिएको थियो।

यद्यपि यो वर्ष भने बीउ राम्रो नभएका कारण उत्पादनमा केही कमी आएको छ। हालसम्म करिब ५० किलो फूल उत्पादन भएको छ। त्यसमध्ये धेरैजसो फूल विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकमै खपत भएको छ।

बजारमा पुष्प व्यवसायीहरूले तिहारको समयमा फूल कम उत्पादन गरेका कारण अभाव भइरहेका बेला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कण्ठिपुरको फूलखेती उपभोक्ताका लागि वैकल्पिक स्रोत बनेको छ। बजारमा अभाव भएकाले आजसम्म पनि विद्यालयमा फूल खोज्न उपभोक्ता आइरहेका छन्। यो वर्ष फूल प्रति किलो रु ३०० का दरले बिक्री भइरहेको प्रधानाध्यापक चन्दले जानकारी दिए।

विद्यालयले खेर गइरहेको जमिनको सदुपयोग गरी विद्यार्थीलाई कृषि तथा उद्यमशीलताको व्यवहारिक पाठ सिकाउनुका साथै विद्यालयलाई आर्थिक लाभ पनि पुर्‍याएको यो कार्य अरू विद्यालयका लागि पनि प्रेरणादायी हुनसक्ने नेपालगञ्ज–१९ का वडाध्यक्ष परसराम कुर्मीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad