कोरोना महारमारीका कारण काठमाडौं उपत्यकाबाट आफ्नो थातथलोतर्फ फर्किंदै गरेका यात्रु चढेको बस शनिबार बिहान महोत्तरीको बर्दिबासमा पल्टिएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको प्रहरीले उद्धार गरेको छ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) माधवप्रसाद बुढाथोकीका अनुसार उदयपुरका लागि जाँदै गरेको बा ३ ख ४०३६ नम्बरको बस शनिबार बिहान ५ बजे महोत्तरीको बर्दिबास-३, पाटुमा पल्टिएको हो।
दुर्घटनामा बसकै सहचालक दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय बाबुराम विकको मृत्यु भएको उनले जानकारी दिए। साथै सोही ठेगानाका २० वर्षीय प्रदीप विक घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र बर्दिबासमै उपचार भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए।
गाडी सडकमै पल्टिएको छ। दुर्घटनाको कारण भने चालक फरार रहेकाले थाहा पाउन नसकिएको उनले बताए।
‘चालक खोजी गरिरहेका छौं,’ शनिबार बिहान टेलिफोनमा डीएसपी बुढाथोकीले नेपाखबरसँग भने, ‘चालक पक्राउ परेपछि मात्रै दुर्घटनाको कारण थाहा होला।’
चलकसमेत गरेर बसमा ३४ जना रहेको र मृतक, घाइते र चालकबाहेक अन्य यात्रुलाई अर्काे गाडी व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको डीएसपी बुढाथोकीले जानकारी दिए।
Shares

प्रतिक्रिया