नेपालमा १० वर्षसम्म जनयुद्ध लडेका तत्कालीन माओवादीका पूर्वलडाकु ‘डायमन्ड सी’ रुसी सेनामा बढुवा भएका छन्।
उनले आइतबार सामाजिक सञ्जालमार्फत आफू रुसी सेनामा बढुवा भएर सेक्सन कमाण्डर बनेको जानकारी दिएका हुन्।
रुस–युक्रेन युद्धमा आफूले रुसको तर्फबाट लडिरहेको भन्दै उनले जनयुद्धमा सहभागी हुँदा अधुरा रहेका सपना अहिले पूरा भएको पनि बताएका छन्।
डायमण्डको फेसबुकमा नेपालको ठेगाना बेनी उल्लेख गरेका छन्। तर, कहिले रुसी सेनामा भर्ती भए भन्ने कुराचाहिँ खुलाएका छैनन्।
डायमण्डले आफू १६ वर्षकै उमेरमा जनयुद्धमा सामेल भएको बताएका छन्। उनले जनयुद्धकै क्रममा माओवादी लडाकु प्रेरणा सिर्पालीसँग जनवादी विवाह गरेका थिए। उनीहरूका एक छोरा र एक छोरी छन्।

जनमुक्ति सेनाको बटालिएर सहकमान्डर बनेका उनले शान्ति प्रक्रियापश्चात २०६८ मा स्वेच्छिक अवकाश लिएका थिए।
‘कहिलेकाहीँ जिवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘जनयुद्धमा सहभागी हुँदा देखेका कैयन सपना अधुरै रह्यो, ती अधुरो सपनाकैबीच रुसको पक्षवाट रुस-युक्रेन युद्धको एक हिस्सेदार बन्ने कठोर निर्णय गरियो। भिषण युद्धकोबीच आफ्नै जीवनको कुनै ग्यारेन्टी नहुने परिस्थितिमासमेत सुरुमा रसियन सेनाको जुनियर सर्जेन्ट अर्थात सेक्सन सह-कमाण्डर र पछिल्लोपटक सर्जेन्ट अर्थात सेक्सन कमाण्डरको रुपमा अग्रमोर्चामा खटेर प्राइमरी एसल्ट सेक्सनलाई कमाण्ड गर्ने विषय सहज त थिएन नै, यद्यपि युद्धकालिन समयको माग अनुसार जिम्मेवारी पूरा गर्नै पर्ने रहेछ।’

Shares

प्रतिक्रिया