समाज


श्रमदान गरेर गाउँलेले बनाए काठको पुल

श्रमदान गरेर गाउँलेले बनाए काठको पुल

नेपालखबर
कात्तिक २, २०८२ आइतबार ६:५, खोटाङ

बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन्। 

गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन्। 

पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन वडा नं २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएको स्थानीय तिलक साम्पाङ किरातीले जानकारी दिए। 

“बाढीले ढलान बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ। खोलामा पानीको बहाव घटेको छैन”, उनले भने, “तत्कालका लागि मोटरसाइकल आवतजावत गराउन श्रमदानमार्फत काठको पुल निर्माण गरेका हौँ। अब जुनसुकै समयमा मोटरसाइकलमार्फत आवतजावत गर्न सकिने भएको छ।”

दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित तापखोलाको शनिबारेमा काठको पुल निर्माण गरिएपछि मोटरसाइकलबाट सदरमुकाम दिक्तेललगायत ठाउँ आवतजावत गर्न सकिने भएको स्थानीयले बताएका छन्। 

गाउँपालिकाका उपप्रमुख गुरुराज राईसहितका जनप्रतिनिधि तथा स्थानीय युवा गरी ६५ जनाको सहभागितामा जनश्रममार्फत काठको पुल निर्माण गरेर सञ्चालन गरिएको वडाध्यक्ष राईले जानकारी दिए। 

दिक्तेल–पाथेका–फेदी सडक खण्डको तापखोलास्थित शनिबारेमा केपिलासगढी गाउँपालिका र वडा कार्यालय खार्ताम्छाको संयुक्त लगानीमा यातायात सञ्चालन गर्न शनिबारेमा खोला ढलान गरिएको थियो। 

सात वर्षअघि गरिएको ढलान बाढीले बगाएपछि उक्त गाउँपालिकाको तीन वडाका स्थानीयलाई १० किलोमिटर लामो दिक्तेल–खार्मी सडक पार गर्दै सदरमुकाम दिक्तेल पुग्नुपर्ने बाध्यता बनेको थियो। 

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–पाथेका–फेदी सडक खण्डको तापखोलास्थित शनिबारेमा मोटरेबल पक्की पुल निर्माण गर्न यस वर्ष प्रदेश सरकारबाट बजेटसमेत उपलब्ध भएको छ। 

केपिलासगढी गाउँपालिकाका तीन वडाका स्थानीयले सदरमुकाम दिक्तेल तथा राजधानी काठमाडौँ आवतजावत गर्ने प्रमुख मार्गमा पर्ने शनिबारेमा निर्माण हुने कोशी प्रदेश सरकारको बहु वर्षे योजनाअन्तर्गत मोटरेबल पक्की पुलका लागि रु दुई करोड बजेट उपलब्ध भएको वडाध्यक्ष राईले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad