जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा दुईजनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसरको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार दुई जनाविरुद्ध कर्तव्य ज्यानसहितको कसुरमा मुद्दा दर्ता गरेको हो।
काभ्रेपलान्चोकको रोशी गाउँपालिका ९ राजवास घर भई हाल बालुवाटारमा डेरा बस्ने २८ वर्षका युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका ७ बतासे घर भई काठमाडौँको चन्द्रागिरि बस्ने २१ वर्षका सोनाम तामाङ भन्ने बुद्धिलाल थिङविरुद्ध मुद्दा दर्ता भएको हो।
उनीहरुले प्रहरी वृत्त महाराजगन्जमा कार्यरत जवान २८ वर्षका उत्तम थापाको हत्या गरेको आरोप छ। थापा २०७३ सालदेखि नेपाल प्रहरीमा कार्यरत थिए। भदौ २४ गते जवान थापा सादा पोसाकमा ड्युटीमा खटिएका थिए।
जेनजी आन्दोलनकारीहरुले उनलाई प्रहरी कार्यालयको पछाडि लगेर क्रूर ढंगले आक्रमण गरी हत्या गरेका थिए। हत्यापछि पनि उनको शव प्रदर्शनकारीहरुले घिसारेर सडकमा फालिदिएका थिए। पछि नेपाली सेनाको टोलीले शव प्रहरी अस्पताल महाराजगन्जमा लगेको थियो।
मृतकका काका ईश्वरसिंह थापाले आफ्नो भतिजको हत्या आरोपीको पहिचान गरी कारबाही गर्न प्रहरीमा जाहेरी दिएका थिए। उनको जाहेरीका आधारमा अनुसन्धान गरेर प्रहरीले तत्काल दुई जनाविरुद्ध मुद्दा दायर गरेको हो।
डीएसपी भन्दै प्रहरी जवान थापालाई कुटीकुटी मारियो, आमा र श्रीमती भए बेसहारा
आरोपितहरुले प्रहरी समक्ष बयानमा हत्यामा संलग्नता स्वीकार गरेका छन्। युवराज क्याप्छाकी मासु पसलमा डेलिभरीको काम गर्ने गरेको पाइएको छ। उनले प्रहरी कार्यालयमा तोडफोड गर्दै आगजनी गरेको, हिरासतभित्र रहेका थुनुवा भगाएको, प्रहरीलाई फलामको रड, लाठी, चिरपट, गुलेली, ह्यामर, चक्कु, खुकुरी लगायतले आक्रमण गरेको बयान दिएका छन्। उनले प्रहरी कार्यालयबाट विभिन्न सामानहरु चोरी गरेको पनि पाइएको छ।
अर्का प्रतिवादी बुद्धिलाल थिङ टोखामा राजीव केसीले सञ्चालन गरेको ब्रदर्स रेस्टुरेन्ट एन्ड स्नुकर हाउसमा कुकको काम गर्थे। उनले पनि प्रहरीलाई कुटपिट गरी हत्या गरेको बयानमा स्वीकार गरेका छन्। प्रहरीले भिडिओका आधारमा उनीहरुलाई पक्राउ गरेको थियो। प्रहरीको हत्यापछि उनी रेस्टुरेन्टमै लुकिछिपी बस्दै आएका थिए।
आफूले प्रहरी कुटपिट गरी हत्या गरेको भिडिओ उनी आफैँले पनि बनाएका थिए। यस्तै उनी समेतले प्रहरीलाई महाराजगन्ज वृत्तभित्र थुनेर आगो समेत लगाएका थिए। पछि नेपाली सेनाको हेलिकोप्टरबाट २२ प्रहरीको उद्धार गरिएको थियो।
उनीहरुलाई ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत कसुरतर्फ पनि कारबाही गर्न सरकारी वकिल कार्यालयले माग गरेको छ। यी कसुरमा जीवित रहेसम्म कैद सजाय माग गरिएको छ। यस्तै पीडित परिवारलाई क्षतिपूर्ति भराइदिन पनि माग गरिएको छ।
यो कसुरमा अन्य व्यक्तिको संलग्नता खुलेमा पक्राउ परेका बखत पुनः पेस गरिने अभियोग पत्रमा उल्लेख छ।
जेनजी आन्दोलनमा तीन प्रहरीको हत्या भएको थियो। जवान थापा सँगै सहायक हवल्दार अमृत गुरुङ र प्रहरी सहायक निरीक्षक मिलन रायको हत्या भएको थियो।
प्रहरीको गोली लागेर, जलेर र कैदी भाग्ने क्रममा थप ७३ जनाको मृत्यु भएको थियो। आगजनीमा परेका व्यक्तिहरुको भने कंकाल मात्रै फेला परेको छ। त्यसैले अझै सनाखत हुन सकेको छैन।
Shares

प्रतिक्रिया