समाज


निर्वाचनअघि संविधानमाथि छेडखानी गर्ने प्रयास घातकः लोसपा

निर्वाचनअघि संविधानमाथि छेडखानी गर्ने प्रयास घातकः लोसपा

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १९:३२, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव डा. सुरेन्द्र झाले सरकार तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन निष्पक्ष र भयरहित वातावरण निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताएका छन्।

निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका छन्। 

उनले आवधिक निर्वाचन नै लोकतन्त्रको गहना भएको कारण लोसपा निर्वाचनको पक्षमा रहेको बताए। 

महासचिव झाले वर्तमान सरकार असंवैधानिक भएपनि आवश्यकताको सिद्धान्तको आधारमा आफूहरूले स्वीकार गरेको दाबी पनि गरे। उनले अहिले संविधान अर्धमृत अवस्थामा रहेको उल्लेख गर्दै निर्वाचनभन्दा अगाडि संविधानलाई चलाउने काम गर्न नहुनेमा जोड दिए।

उनले निर्वाचनभन्दा अघि संविधानमाथि छेडखानी गर्ने कुनैपनि प्रयास लोकतन्त्रका लागि घातक हुने चेतावनी पनि दिए। 

उनले वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्वाचन गराउनु भएपनि सरकार प्रमुख र मन्त्रीहरू जिम्मेवारी विमुख हुन खोजेको आरोप पनि लगाए।

उनले भने, ‘लोकतान्त्रि समाजवादी पार्टी नेपाल निर्वाचनको पक्षमा छ। आवधिक निर्वाचन लोकतन्त्रको गहना हो। तर हाम्रो संविधान अर्धमृत अवस्थामा पुगिसकेको छ। अहिलेका प्रधानमन्त्रीमन्त्रीको नियुक्ति नै असंवैधानिक देखिन्छ। यद्यपी डक्टिन अफ नेसेसिटी भनेर त्यसलाई मान्यता दिएका छौं।’

उनले थपे ‘यो सरकारको एउटा मात्र म्यान्डेट निर्वाचन गराउने हो। तर सरकार प्रमुख र मन्त्रीहरूको अभिव्यक्ति र क्रियाकलाप चाहिँ निर्वाचन गराउनेभन्दा पनि अर्कैतिर गएको देखिन्छ। उहाँहरूको स्टन्ट गर्नेतिर बढी ध्यान केन्द्रित छ। निर्वाचनको लागि भयरहित वातावरणको सुनिश्चितता जुन सरकारले गर्नुपर्ने हो त्यो देखिँदैन।’

उनले समाजमा नैराश्यता फैलिएको उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले प्रहरीको मनोबल बढाउँदै लुटिएका हतियार फिर्ता र कैदीहरूलाई थुन्ने कार्यमा ढिलाई गर्न नहुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad