विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज थुनछेक बहस हुने भएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा सुरुमा बकपत्र र त्यसपछि बहस हुनेछ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो। सोमबार अभियोगपत्रसाथ प्रहरीले एकै पटक अदालतमा बुझाइएको हो।
महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ। उनलाई यसअघि २०८० चैत ५ गते पनि कागज गराएको थियो।
त्यतिबेलै धेरै विषय आइसकेको र थप प्रमाण प्रहरीले जुटाउन बाँकी नरहेकाले अभियोग पत्र तयार गरेर भोलिपल्टै लगिएको हो।
०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मा सुन ल्याएको पाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याएको सुन भन्सारकै कर्मचारीले लगेका थिए।
भन्सारले सुरुमा नियन्त्रणमा लिएपछि छुटाउनलाई चिनियाँसँग महरा बाबुछोराको मिलेमतो देखिएको प्रहरीले जनाएकाे छ। याे प्रकरणमा भन्सारका कर्मचारीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ।
चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको मिलेमतो देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए।
Shares

प्रतिक्रिया