देशभरबाट मनसुन बाहिरिएसँगै आज असोज २४ गतेदेखि जल तथा मौसम विज्ञान विभागले बाढीबारे दिने सूचना बन्द गरिएको जनाएको छ।
मनसुन हटेसँगै अबदेखि देशका नदीनालाहरूमा बाढी आउने सम्भावना खासै नहुने भएकाले यस विषयमा दैनिक दिने गरिएको जानकारी बन्द गरिएको मौसम विभागले जनाएको छ।
‘यस विभागले हरेक वर्षको मनसुन अवधिमा बाढीको पूर्वानुमान गरी पूर्वसूचना दिने कार्य गर्दै आएको छ। जसअन्तर्गत हरेक दिन बिहान ८ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गर्ने तथा चौबीसै घण्टा टोल फ्रि नम्बर ११५५-२ बाट बाढीसम्बन्धी पूर्वसूचना र जानकारी दिनुका साथै आम-सर्वसाधारणबाट प्राप्त हुने जिज्ञासा सम्बोधनलगायतका काम गर्दै आएकोमा वि. सं. २०८२ सालको मनसुन यसै असोज २४ गतेदेखि नेपालबाट बाहिरिएकोले नेपालका नदीनालाहरू उल्लेख्य सम्भावना नहुने हुँदा बाढीको पूर्वानुमान र पूर्वसूचनाको नियमित २४ घण्टे सेवा हाललाई स्थगित गरिएको छ’, मौसम विभागको सूचनामा भनिएको छ, ‘बाढी पूर्वानुमान बुलेटिन र ११५५ - २ बाट बाढीसम्बन्धी पूर्वसूचना र जानकारी दिने कार्य समेत हाललाई बन्द गरिएको छ। मनसुनबाहेकको अवधिमा पनि कुनै बाढीजन्य घटना आकलन, पूर्वानुमान वा सिर्जना भएको खण्डमा तुरुन्तै २४ घण्टे बाढी पूर्वसूचना सेवा तात्कालिक रूपमा सञ्चालन गरिने बेहोरासमेत अवगत गराउदछौँ।’

Shares

प्रतिक्रिया