गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन्।
भीषण वर्षापछि आएको पहिरोले देउमाई नगरपालिका मात्रै ८ जनाको निधन भएको थियो। करिब १०० घरमा क्षति पुगेको छ।
बाढी पहिरोबाट प्रभावित देउमाईका स्थानीयको जनजीवन कष्टकर बनेको तर नगरपालिकाले राहत वितरणमा ढिलाई गरेको भन्दै स्थानीयले सांकेतिक विरोध गरेका हुन्।
नगरपालिकाले समयमै राहत वितरण गर्न नसकेको र वितरण गरिएका सीमित राहत पनि मेयरको कार्यकक्षमै बोलाएर सीमित व्यक्तिहरूलाई मात्रै दिएको भन्दै युवाहरू आक्रोशित बनेका छन्।
राहत वितरणमा मात्र नभई अन्य विकासका काममा पनि अत्यधिक ढिलासुस्ती भएको भन्दै विरोध स्वरूप देउमाईका स्थानीय युवाले आफैंले खरिद गरेका राहत सामग्रीहरू नगरपालिकाका मेयरलाई नै हस्तान्तरण गरेका छन्।
उक्त राहत सामग्रीमा दाल, चामल, नुन, तेल लगायत खाद्यान्न रहेको एक युवाले जानकारी दिए।
Shares

प्रतिक्रिया