पाटन अस्पतालमा उपचाररत काठमाडौँको पेप्सीकोलाका कोरोना भाइरस (कोभिड १९) का संक्रमित आमाछोरा निको भई डिस्चार्ज भएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित ब्रिफिङमा दुई जना उपचारपछि निको भएर घर फर्केको र दुई जना नयाँ संक्रमित थपिएको जानकारी दिइएको हाे।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौं पेप्सीकोलाका दुई जना निको भएर घर फर्किएका हुन्। निकाे हुनेमा ५८ वर्षीय पुरुष र ८१ वर्षीय वृद्धा रहेका छन्। उनीहरु दुबै डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ।
बेलायतबाट फर्केको एक महिनापछि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई आमाछोरामा वैशाख २ गते कारेना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएसँगै अस्पतालमा रहेका १० दिनपछि निको भएर घर फर्केका हुन्।
यस्तै उदयपुर र जनकपुरका एक/एक व्यक्तिमा संक्रमण भेटिएको मन्त्रालयले पुष्टि गरेका छ। उदयपुरबाट संकलन गरिएको नमूना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना पुष्टि भएको हो। उनी ५५ वर्षीया महिला हुन्।
यस्तै जनकपुरका १४ वर्षीय युवामा थप कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।
तीमध्ये ९ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ।
Shares
प्रतिक्रिया