समाज


बढ्दै चिसो, काठमाडौँको तापक्रम थप घट्यो

बढ्दै चिसो, काठमाडौँको तापक्रम थप घट्यो

नेपालखबर
असोज २३, २०८२ बिहिबार ६:२२, काठमाडौँ

दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ। 

यसै क्रममा आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १७.४ डिग्री सेल्सियस देखिएको हो।

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे सार्वजनिक हुन्छ। त्यतिबेला अहिलेको भन्दा तापक्रम थौरै घट्न पनि सक्छ अथवा यत्ति नै रहन पनि सक्छ। 

हिजो बुधबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.८ डिग्री सेल्सियस थियो। 

अक्टोबर लाग्नुभन्दा अघिचाहिँ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस थियो। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ। 

मनसुन हट्दै जाँदा देशमा पश्चिमी वायु सक्रिय हुन्छ। यसले मौसम चिसो गराउँछ। वर्षासँगै हिमपात पनि गराउँछ। पश्चिमी भेगका हिमाली क्षेत्रका कतिपय स्थानमा हिउँ पर्न पनि थालिसकेको छ। 

औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै नेपाल प्रवेश गरेको मनसुन अक्टोबर ६ (असोज २०) का दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशको पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशको पश्चिमी भेगका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन हटिसकेको छ। अब ती स्थानमा पश्चिमी वायु सक्रिय भइसकेको छ। 

मौसमविद्का अनुसार अब मनसुन त्यो पनि कमजोर अवस्थामा माथि उल्लिखित प्रदेश र स्थानबाहेकका क्षेत्रमा मात्र छ। अर्थात् लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका खासगरी पूर्वी क्षेत्र तथा बागमती, मधेस र कोसी प्रदेशका पूरै क्षेत्रमा मात्र मनसुनको कमजोर प्रभाव कायम छ।

मौसमविद्का अनुसार नेपालमा मौसमलाई चार भागमा वर्गीकरण गरिएको छ- प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।

यी सिजनमध्ये सबैभन्दा लामो भर्खरै बिदा हुन लागेको मनसुन चार महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ। सबैभन्दा छोटो समयचाहिँ अब सुरु हुने पोस्ट मनसुन जम्मा २ महिना अक्टोबर र नोभेम्बरसम्म रहन्छ।  

अनि ‘विन्टर’ ३ महिना- डिसेम्बर, जनवरी र फेब्रुअरीसम्म रहन्छ भने प्रि-मनसुन पनि ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ। प्रि-मनसुन सकिएपछि फेरि मनसुन सुरु हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad