काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालले जेनजी आन्दोलनका घाइतेबाट असुलेको केही रकम फिर्ता गरेको छ।
निःशुल्क उपचार गरिदिने भन्दै घाइते भर्ना गरेर चर्को शुल्क असुलेको खबर नेपालखबरमा प्रकाशित भएको थियो। केएमसीले त्यो खबर झुटो भन्दै शुल्क नलिएको दाबी गरी विज्ञप्ति निकालेको थियो। तर, उसले अस्पतालमा बोलाएर केही रकम फिर्ता गरेको घाइते भुवन दाहालले नेपालखबरसँग बताए।
काठमाडौँको बबरमहलस्थित मेगा कलेज पढ्ने दाहाल त्यहीँ नजिकै छात्रावासमा बस्थे। जेनजीको आन्दोलन चलिरहँदा भदौ २३ गते उनी सिंहदरबारको नजिक पुगेका थिए। उनी हिँड्दै गर्दा जाँघमा अकस्मात् रबरको गोली लागेर त्यहीँ ढले।
उनलाई अस्पताल कसले लग्यो भन्ने कुनै जानकारी छैन। तीन दिनसम्म केएमसी अस्पतालमा बसेर डिस्चार्ज हुँदा उनलाई २५ गते अस्पतालभित्रको खर्च भन्दै २४ हजार ८८४ रुपैयाँको बिल थमाइएको थियो। फार्मेसी र अन्य खर्च भनेर ८ हजार ७४ रुपैयाँको अर्को बिल पनि दिइएको थियो। यो रकम जोड्दा ३२ हजार ९५८ हुन्छ।
त्यतिखेर दाहालले कसैलाई गुहार्न सकेनन्। कर्फ्युकै बीच उनी अस्पतालबाट निस्कनुपर्ने भयो। गाडी चलेका थिएनन्। त्यसैले एम्बुलेन्समा घर जाँदा ३ हजार रुपैयाँ तिर्नुपरेको थियो।
‘४ पटक एम्बुलेन्स चढेको १३ हजार रुपैयाँ तिरिसकेँ,’ उनले नेपालखबरसँग भनेका थिए, ‘ड्रेसिङ गर्न भनेर अस्पताल बोलाइरहन्छ। निःशुल्क गर्ने भनेको उपचारमै ३६ हजारभन्दा बढी खर्च भइसक्यो।’
होस्टलमा हेरविचार गर्ने मान्छे नभएपछि अहिले उनी कलंकीमा आफन्तकहाँ बस्न पुगेका थिए।
अस्पतालले चर्को रकम असुलेको खबर प्रकाशित भएपछि त्यहाँका कर्मचारीले बोलाएर २४ हजार रूपैयाँ फिर्ता गरेको दाहालले बताए। उनले भने, ‘सबै रकम त फिर्ता गरेन। तर, नेपालखबरमा यस्तो खबर प्रकाशित भएपछि बोलाएर २४ हजार फिर्ता दियो।’
केएमसी अस्पताल नेपाली कांग्रेसका निवर्तमान सांसद सुनीलकुमार शर्माको हो।
उनी विभिन्न दलका नेताले देश लुटेको भन्दै चर्को भाषण गरेका कारण पनि चर्चामा आइरहन्छन्।
Shares

प्रतिक्रिया