समाज


बाढीपहिरो: विभिन्न पार्टीले गरे राहत तथा उद्धारमा खट्न अपिल

बाढीपहिरो: विभिन्न पार्टीले गरे राहत तथा उद्धारमा खट्न अपिल

नेपालखबर
असोज १९, २०८२ आइतबार ७:५, काठमाडौँ

निरन्तरको वर्षापछि उत्पन्न विपद्को अवस्थामा उद्धार तथा सहयोगका लाग्न विभिन्न पार्टीले आग्रह गरेका छन्। 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले  राजनीतिक दल, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई विपद्का समयमा  एकताबद्ध भएर उद्धार र राहत कार्यमा जुट्न अपिल गरेका हुन्। 

प्रचण्डले विज्ञप्ति जारी गर्दै मुलुकले सामना गरिरहेको  विपदमा तीनै तहका सरकारलाई युद्धस्तरमा समन्वय र नेतृत्व गर्न तथा त्यसमा सहयोग गर्न पार्टीपङ्क्तिलगायत सबैलाई आग्रह गरेका हुन्। 

यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उच्च जोखिममा रहेका जनताको उद्धार तथा सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।

उनले एक सन्देश जारी गर्दै विपदमा परेका जनतालाई आवश्यक सहायता उपलब्ध गराउन सरोकार भएका निकायलाई आग्रह गर्दै जोखिममा परेकाको उद्धार तथा क्षति न्यूनीकरणमा आवश्यक सहयोग गर्न नेता तथा कार्यकर्तालाई पनि आग्रह गरेका छन्। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पीडित नागरिकको उद्धार कार्यमा सक्रिय रुपमा जुट्न राप्रपाका सबै तहका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन।

उनले एक विज्ञप्ति जारी गर्दै वर्षातबाट पुग्न गएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै विपदको यस घडीमा आफू सुरक्षित रही उद्धारमा सक्रिय रहन सबैलाई आग्रह गरेका हुन्। 

यसैगरी जनता समाजवादी पार्टी (जसपा) ले पनि वर्षासँगको बाढीपहिरो तथा डुबानका कारण उत्पन्न विपद्को सामनाका लागि उद्धार, राहत तथा सहयोगमा जुट्न आग्रह गरेको छ।
 
पार्टीका उपमहासचिव प्रदीप यादवले एक अपिल जारी गर्दै पार्टी  नेता कार्यकर्तालाई आआफ्नो क्षेत्रमा विपद् न्यूनीकरण तथा उद्धारका काममा लाग्न आग्रह गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad