‘तपाईंसँग ५ महिना मात्र समय छ।’
डाक्टरको यो शब्द सुन्नेबित्तिकै संकल्प खड्का निःशब्द भए। रगत वान्ता भएर अस्पताल पुगेका उनलाई कलेजो पूर्ण रुपमा बिग्रिएको भन्दै चिकित्सकले बढीमा ५ महिना बाँच्ने अवधि तोकिदिए।
दुई वर्षअघि लिभर सिरोसिस भएको थियो उनलाई। औषधिको सेवन गरेर स्वस्थ बनेका उनलाई एक्कासि पटकपटक रगत वान्ता हुन थालेको थियो।
नसा फुटेर रगत बान्ता भएको भन्दै चिकित्सकले अवस्था गम्भीर रहेको बताएका थिए। तर, उनको परिवारले हरेस खाएको थिएन। जागिर नै छाडेर श्रीमानको उपचारमा लागेकी उनकी पत्नी विनायक गौतम अन्य चिकित्सकलाई भेट्न थालिन्।
विनायक भन्छिन्, ‘एक जना चिकित्सकले फुटेको नसा बाँध्न सकिने भन्नुभयो। त्यो उपचारपछि भने उहाँको रगत बान्ता हुन छोडेको थियो।’
चिकित्सकले कलेजो प्रत्यारोपण भएन भने बचाउन सकिँदैन भनेका थिए। परिवारका सदस्य बीच कलेजो मिलाउन खोज्दा कसैसँग पनि मिलेन। चिकित्सकले ब्रेन डेथ भएको कोही पाइए प्रत्यारोपण गराउन सकिने जनाए।
संकल्पको स्वास्थ्य अवस्था निकै खस्किँदै गएको थियो। प्रत्यारोपण गराउन भारतसम्म पुगे उनी। त्यहाँ पनि कलेजो प्रत्यारोपण गराउन सकेनन्। संकल्प औषधिको भरमा बाँचिरहे। उनकी श्रीमती भने श्रीमानलाई केही भइहाल्छ कि भन्ने डरमा थिइन्।
सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गरिरहेका संकल्पलाई डेंगु संक्रमण भएपछि अस्पताल जाँदा कलेजो फेल भएको पत्ता लागेको थियो। रगतमा प्लेटलेट्सको मात्रा कम भएपछि रगतको परीक्षण गर्दा रगतमा खराबी देखिएको थियो। परीक्षण गर्दा कलेजो बिग्रिएको (सिरोसिस) भएको पत्ता लागेको थियो।
दुई वर्ष नियमित औषधि सेवन गर्दा कुनै स्वास्थ्य समस्या देखिएको थिएन। रगत बान्ता हुन छोडेपछि संकल्पको परिवार प्रत्यारोपण गराउन सकिने आशा सहित शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र पुगेका थिए।
त्यसपछि ब्रेन डेथ भएका ३ जना व्यक्ति फेला परे। तर, कसैको परिवारले अंग दान गर्न मानेन त कसैसँग रक्त समूह मिलेन। पटकपटक प्रयास गर्दा पनि प्रत्यारोपण हुन नसकेपछि उनले बाँच्ने आशा मार्न थालिसकेका थिए।
गत साउन ३१ गते उनलाई ‘सुमेरु अस्पतालबाट ब्रेन डेथ भएको व्यक्तिको अंग आएको छ, तपाईं तुरुन्त आउनुहोस्’ भन्दै फोन आयो।
फोन आउनासाथ उनी परिवारका साथमा प्रत्यारोपण केन्द्र पुगे। रक्त समूह पनि मिल्यो। सोही दिन उनको कलेजो प्रत्यारोपण भयो। आफूलाई शल्यक्रिया कक्षमा लैजाँदै गर्दा बल्ल दोस्रो जीवन पाउने भएँ भन्ने लागेको उनले सुनाए।
संकल्पको कलेजो प्रत्यारोपण भयो। प्रत्यारोपण भएको १० दिनमा उनी डिस्चार्ज भए। दोस्रो जीवन पाएको बताउने संकल्प शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भदौ २३ गते १ हजार ५ सय मिर्गौला प्रत्यारोपण गरेको अवसरमा आयोजना गरेको कार्यक्रममा आएका थिए। ब्रेन डेथ भएका व्यक्तिको अंगदान हुन सक्यो भने आफूजस्ता जीवनको अन्तिम अवस्थामा पुगिसकेका व्यक्ति बच्न सक्ने चेतना फैलाउन उनी कार्यक्रममा आएको बताए।
‘ब्रेन डेथ भएको एक व्यक्तिबाट तीन जनाको जीवन बच्यो। मैले कलेजो पाएँ। २ जनाले मिर्गौला पाउनुभयो,’ उनले भने।
प्रत्यारोपण भएको कलेजोलाई शरीरले ‘रिजेक्ट’ नगरोस् भनेर जीवनभर औषधि खानु पर्छ। तर, भेट्न आउने केही आफन्तको शब्दले भने विनायकलाई निराश बनाउने गरेको छ।
‘‘औषधि खाँदा पनि पाँचसात वर्ष बाँचिहाल्नुहुन्थ्यो होला, किन प्रत्यारोपण गराएको होला पैसा मात्र सकेर’ भन्नु हुन्छ केही आफन्तले त्यसले थप पीडा दिन्छ,’ विनायक भावुक हुँदै भन्छिन्।
यसबीच मदिरा सेवन नगर्ने र स्वस्थ जीवनयापन गर्न सके लामो समय बाँच्न सकिने चिकित्सकले बताएको उनको भनाइ छ।

एकै व्यक्तिमा दुई अंग प्रत्यारोपण
एकै पटक मिर्गौला र कलेजो प्रत्यारोपण भएका ५० वर्षीय शिव महर्जनले पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण मार्फत नयाँ जीवन पाएका छन्। गत जेठमा २ अंग प्रत्यारोपण भएर नयाँ जीवन पाएका शिवको शरीरमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गरिएको थियो। पहिलो पटक एकै चोटि दुई अंगको प्रत्यारोपण गराएका शिव स्वस्थ भएका छन्।
हेटौँडा घर भएका शिवलाई ४ वर्षअघि लिभर सिरोसिस भएको थियो।
शिवको कलेजो प्रत्यारोपण गराउन परिवारको कोहीसँग पनि मिलेको थिएन। चिकित्सकले ब्रेन डेथ भएकाबाट लिन सकिने जनाएका थिए। ब्रेन डेथ भएकाहरूबाट अंग लिन उनले पनि प्रत्यारोपण केन्द्रमा नाम टिपाएका थिए। तर, पाएनन्। कलेजोको उपचार गराइँरहदा उनको दुवै मिर्गौलाले काम गर्न छाड्यो।
कलेजोको रोगको उपचार गराइँरहदा एक्कासि मिर्गौलाले काम गर्न छाडेपछि उनले बाच्ने आशा त्यागेका थिए। तर, गत जेठ १ गते शिवको जीवनमा पनि चमस्कार भयो। सवारी दुर्घटनापछि उपचारका क्रममा मस्तिष्क मृत्यु घोषणा गरिएका १८ वर्षका दोर्जेमान तामाङका अंग अस्पताल आयो। उनलाई सोही दिन फोन आयो। चिकित्सकले तत्काल नै प्रत्यारोपण गरे। मस्तिष्क मृत्युबाट आएको एउटा मिर्गौला र कलेजो शिवमा प्रत्यारोपण गरिएको थियो भने अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको थियो।
केन्द्रका कार्यकारी निर्देशक डा पुकार श्रेष्ठ नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन चारदेखि ६ जनाको मृत्यु हुने गरेको र काठमाडौँ उपत्यकामा मात्रै वार्षिक करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेकामा उनीहरूको अंग झिकेर प्रत्यारोपण गर्न सके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ।
एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला दुई, फोक्सो दुई जनामा, कलेजो, मुटु, प्याङ्क्रियाज, सानो आन्द्रा एक–एक गरी आठ जनामा अंग प्रत्यारोपण गर्न सकिने चिकित्सक बताउँछन्।

नियमावली कार्यान्वयन नहुँदा कार्यक्रम अलपत्र
मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ पूर्ण कार्यान्वयन नहुँदा पनि कार्यक्रम अलपत्र परेको छ। नियमावलीमा मस्तिष्क मृत्युको घोषणा भएका व्यक्तिको अंग झिक्ने, झिकेका अंग सुरक्षित गर्ने, प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अंगलाई प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउन समन्वय इकाई तोक्ने उल्लेख छ।
तर सरकारले हालसम्म यस्तो इकाई तोकेकै छैन। बरु, अर्को व्यवस्था नभएसम्म शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई नै समन्वय इकाई तोकिएको छ। तर त्यहाँ छुट्टै प्रतिबद्ध टिम छैन। समन्वय इकाईको प्रमुख नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठ छिन्। उनीसहित प्रत्यारोपण केन्द्रमै कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई समन्वय इकाईको पनि जिम्मेवारी दिइएको छ।
नेपाल सरकारले अंग प्रत्यारोपण सम्बन्धी नीति योजना तथा कार्यक्रम तयार पार्न डा पुकारचन्द्र श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय अंग प्रत्यारोपण समन्वय समिति गठन गरेको छ।
नेपाल सरकारले अंग प्रत्यारोपण सम्बन्धी नीति योजना तथा कार्यक्रम तयार पार्न केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय अंग प्रत्यारोपण समन्वय समिति गठन गरेको छ।
समन्वय इकाईबाहेक अन्य संस्था तथा चिकित्सकलाई समन्वय गर्ने अधिकार छैन।
डा श्रेष्ठ मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दान गर्न दिने हो भने धेरै बिरामीले नयाँ जीवन पाउने बताउँछन्।
‘मस्तिष्क मृत्यु भएकाहरूको अंगदान गर्न परिवारका सदस्यले स्वीकृत नदिँदा धेरै बिरामीको अंग प्रत्यारोपण रोकिएको छ। परिवारका सदस्यसँग अंग नमिल्दा मस्तिष्क मृत्यु भएकाबाट अंग निकालिएको अंग कुर्ने १ हजार भन्दा बढी हुनुहुन्छ,’ उनले भने।
मस्तिष्क मृत्यु भनेको कोही व्यक्ति बिमारी भएर वा दुर्घटनामा परेर उपचारको क्रममा हुँदा मष्तिष्कले काम गर्न छाडेको अवस्था हो।
टाउकोको गहिरो चोट, मस्तिष्कघात, मस्तिष्क रक्तस्राव, ब्रेन ट्युमरलगायत स्वास्थ्य समस्याका कारण पनि मस्तिष्क मृत्यु हुन सक्ने डा श्रेष्ठ जनाए।
‘मस्तिष्कले काम गर्न छाडे पनि शरीरका अन्य अंगले केही समय काम गरिरहेको हुन्छ। अर्थात मस्तिष्क मृत्यु भएको बिरामीले भेन्टिलेटरको माध्यमबाट श्वास फेरिरहेको हुन्छ, तर कुनै पनि उपचारबाट सामान्य अवस्थामा फर्काउन नसकिने हुन्छ,’ डा श्रेष्ठ भन्छन्।
Shares

प्रतिक्रिया