समाज


चाडपर्व लक्षित अनुगमनः थोत्रा जारदेखि दुग्ध पदार्थ र खाद्यान्नसम्मै समस्या

चाडपर्व लक्षित अनुगमनः थोत्रा जारदेखि दुग्ध पदार्थ र खाद्यान्नसम्मै समस्या

नेपालखबर
असोज ८, २०८२ बुधबार १४:५७, काठमाडौँ

खाद्य प्रविधि तथा गुण निणन्त्रण विभागले चाडपर्व लक्षित अनुगमन तीब्र पार्दै गएको छ।

नेपालीहरूको महान चाड दसैँ तिहार नजिकिएसँगै बजारमा अखाद्य वस्तुहरू बढेको गुनासो बढेपछि अनुगमन सुरु गरिएको हो। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना जोशी (वैद्य) ले चाडपर्व लक्षित अनुगमनलाई बढाइएको बताइन्।

अहिले राजमार्गमा भएका होटेल, रेस्टुरेण्टहरू लगायत बजार अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गत रहेका सातवटा प्रदेशमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरू र ती प्रदेशअन्तर्गत रहेका कार्यालयअन्तर्गत रहेका जिल्लास्थित डिभिजन कार्यालयहरूमार्फत भइरहेको छ। अनुगमनबाट निर्देशन दिनेदेखि जरिवानासम्म गर्ने काम भइरहेको उनको भनाइ छ। 

महानिर्देशक वैद्यले पानीका जारदेखि दुग्घजन्य वस्तु, खाद्यान्नसम्म नै अनुगमनबाट समस्या देखिएको बताइन्। उनकाअनुसार प्रशोधित पानीहरूमा समस्याहरू छन्। पुराना थोत्रा जारहरू जताततै प्रयोग भइरहेको छ। ती जारहरूलाई उपभोक्ताले रिजेक्ट गर्न सकेका छैनन्।

उनका अनुसार रेस्टुरेन्ट होटलहरूले मापदण्ड पूरा नगरेको, दुधमा मिसावट गरिएको, कतिपय खाद्य वस्तुमा बढी रंग प्रयोग गरिएको पछिल्ला अनुगमनबाट पाइएको छ। 

‘कोतरेको जारमा हामीले त्यो जारलाई किन्नुपर्छ भन्ने छैन नि त। बजारमा अरु पनि अप्सन छ नि। जब उपभोक्ताले रिजेक्ट गरिदिनु भयो समस्या अलि कम हुन्छ’ महानिर्देशक वैद्यले भनिन्–‘एकदमै खराब अवस्थाको तेल छ, जसले गर्दाखेरि त्यहाँ पकाएको खाद्य वस्तु राम्रो हुँदा पनि त्यो तेलले गर्दाखेरि नै बिग्रिने एउटा अवस्था छ। अहिले आइराखेको रिपोर्टमा के भनिराछ भने होटेल रेस्टुरेन्टहरूमा एउटा सजगता पनि छैन र हामीले उहाँहरुलाई अझै धेरै पढाउनुपर्ने देखियो। त्यहाँ रङहरुको प्रयोग पनि अत्यधिक मात्रामा भइराखेको छ।’

सरसफाइको असाध्यै धेरै समस्या रहेको उनले बताइन्। दुधमा पनि मिसावट भएको धेरै गुनासो आएको छ।

जोशीकाअनुसार मुलुक संघीय प्रणालीमा गएकाले तल्लो तहबाट पनि अब अनुगमन हुनसक्ने भएकाले खाद्य स्वच्छता कायम गरिने बताइन्। 

उनका अनुसार २ वर्ष अगाडीसम्म २०२० सालको खाद्य ऐन रहेकोमा विश्व बजारको परिवेशलाई समेटेर गुणस्तर ऐन, २०८१ आइसिकेको छ। त्यसले सम्पूर्ण खाद्य श्रृंखलामा नै खाद्य स्वच्छता कायम हुनुपर्ने भनेको छ। ऐनअनुसार विभागले प्रभावकारी हिसाबले काम गर्दै जाने उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad