पटकपटक सुख्खा पहिरो खस्दा धादिङमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
बेनिघाट रोराङ गाउँपालिका- १० स्थित ज्वाङखोला र तिङराङखानीको बिचमा पर्ने मलेखु-मुग्लिन सडक खण्डको जवाङखोला सडकमा ठूलो पहिरो खसेको कारण गएराति सवा १० बजेदेखि नै सवारी दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ।
‘सुरुमा सोमबार राति सवा १० बजेतिर सानो पहिरो खसेको थियो,’ जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले नेपालखबरसँग भने, ‘त्यो पहिरो पन्छाएर सकिन लागेको थियो, फेरि राति साढे ११ बजेतिर झन् ठूलो पहिरो त्यही ठाउँमा खस्यो। बिहान दुई बजेदेखि त्यो पहिरो पन्छाउँदै थियाैँ, आज बिहान पाँच बजेतिर फेरि त्यहीँ ठाउँमा अर्को ठूलो पहिरो खसेको छ।’
पहिरो पन्छाउन हाल तीनवटा मेसिन प्रयोग भएको उनले बताए। पहिरो खसेको ठाउँमा चितवनको सीमा नजिकै पर्छ।
‘पहिरो ठूलो छ। पन्छाउन अझै निकै समय लाग्ने देखिन्छ,’ डीएसपी हमालले भने, ‘गएरातिदेखि नै यहाँ दुवैतर्फ सवारी साधन रोकिएका छन्।’
चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा पहिरो खस्दा शुक्रबार र शनिबार दुई दिन सवारी सञ्चालन पूर्णरुपमा रोकिएका थिए। त्यो पहिरो पन्छाएर सोमबार दिउँसोदेखि तुइन खोलामा दुईतर्फी नै सवारी सञ्चालन हुन थालेका थिए।
पटकपटक पहिरो खस्दा दसैँको बेला यात्रुले सास्ती पाएका छन्। यात्रामा जोखिम पनि बढेकाले सुरक्षित ढंगले यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
मुग्लिन-मलेखु सडक आयोजनाले आज बिहान सूचना जारी गर्दै जवाङखोलाको पहिरो ठूलो भएकाले पन्छाउन लगभग पाँचघण्टा जति समय लाग्ने जनाएको छ।
‘मलेखु-मुग्लिन सडक खण्डमा पर्ने जवाङखोलानिर ठूलो पहिरो गएकोले दुईतर्फी सडक अवरुद्ध भएको छ। यातायात सञ्चालनलाई लगभग ५ घण्टा जति लाग्ने भएकोले वैकल्पिक बाटो प्रयोग गर्नुहुने अनुरोध गर्दछौँ,’ आयोजनाले जारी गरेको सूचनामा भनिएको छ।
यसैबीच मुग्लिन-नारायणघाट सडक खण्डमा पर्ने तुइन खोला नजिक पनि केही ठाउँमा ढुंगा खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
त्यसरी खसेका ढुंगाहरू साइटमा तैनाथ मेशिनले सफा गर्दै आवागमन सुचारू गरिएको पनि मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत पर्ने जवाङ्गखोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको कार्यालयको भनाई छ।
सडक डिभिजन कार्यालय भरतपुरले पनि आज बिहान सूचना जारी गर्दै वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ।
Shares

प्रतिक्रिया