प्रदेश १ सरकारले पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको हटस्पट बनेको उदयपुर जिल्लामा सील गर्ने निर्णय गरेको छ।
प्रदेशको आन्तरिक सुरक्षा मन्त्रालयमा आज बसेको बैठकले उदयपुरलाई सील गर्ने निर्णय गरेको हो।
‘उदयपुरबाहिरबाट कसैलाई पनि भित्र प्रवेश गर्न नदिने र भित्रबाट कसैलाई बाहिर नस्किन नदिने र उदयपुरभित्रै पनि एक स्थानबाट अर्को स्थानमा मानिसलाई जान नदिने निर्णय भएको छ,’ प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने, ‘आन्तरिक सुरक्षा मन्त्रालयमा आज भएको बैठकले यस्तो निर्णय गरेको हो। संक्रमण थप फैलिनबाट रोक्नका लागि यो निर्णय लिएको हो।’
यो समाचार तयार पर्दासम्म उदयपुरमा संक्रमितको संख्या २४ पुगेको छ।
भुल्केस्थित मस्जिदमा केही दिनअघि १२ जना संक्रमित भएपछि त्यस क्षेत्रको आसपासमा स्वाब संकलन गरेर धरान र काठमाडौँमा परीक्षण गरिएको थियो।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा ८ जना संक्रमित भएको पुष्टि भएको छ भने टेकुस्थित राष्ट्रिय प्रयोगशालामा ३ जना संक्रमित भएको पुष्टि भएको हो।
यो सहित देशमा संक्रमितको संख्या ४२ पुगेको छ ।
Shares
प्रतिक्रिया