समाज


कमेडियन साजन: जसको नेतृत्वमा ढल्को प्रहरी प्रभागले पायो पुनर्जीवन

कमेडियन साजन: जसको नेतृत्वमा ढल्को प्रहरी प्रभागले पायो पुनर्जीवन

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १४:१७, काठमाडौँ

भदौ २३ काठमाडौँसहित देशका विभिन्न जिल्लामा भ्रष्टाचारविरुद्ध जेनजीको प्रदर्शन सुरु भयो। त्यही दिन १९ जना जेनजीको ज्यान गयो। त्यसको भोलिपल्ट (भदौ २४ गते) देशैभर आन्दोलन झन चर्कियो। आन्दोलन तोडफोडसँगै आगजनीमा केन्द्रित भयो। 

यसमा घुसपैठ भएको र यसबारे छानबिन गर्ने सरकारले निर्णय नै गरिसकेको छ। आगजनीबाट मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संघीय संसद् भवन, विभिन्न सरकारी कार्यालय, प्रहरी कार्यालय तथा चौकीहरू पनि ध्वस्त भए। 

यस्तै ध्वस्त भएको थियो काठमाडौँको स्वयम्बू प्रहरीवृत्तअन्तर्गतको ढल्कोस्थित शोभाभगवती मन्दिरनजिकैको प्रहरी चौकी। प्रहरी कार्यालय आगोलागीबाट ध्वस्त भएको देखेपछि कमेडियन साजन श्रेष्ठले यसको निर्माणबारे सोच बनाए। उक्त निर्माणको काम एक्लैले नसक्ने भएपछि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रहरी चौकी निर्माणका लागि स्वयमसेवक चाहियो भनेर पोस्ट गरे। 

उनको पोस्ट देखेपछि उनको सोचलाई यथार्थमा बदल्न, उनको हातमाथि हात दिन आउने युवाहरू थपिए। अहिले सरसफाइसँगै रङरोगनको काम सम्पन्न भइसकेको साजन बताउँछन्।  

साजनले कसरी प्रहरी चौकी निर्माणको सोच आयो भन्नेबारे पनि स्पष्ट पारे। 

'भदौको २३ र २४ गतेको आन्दोलनको समयमा म आफैँ पनि गएको थिएँ। तर भोलिपल्टदेखि कैदी भागेको, चोरको बिगबिगी भएको भन्ने समाचारहरू पनि आए, घटनाहरू पनि भए,' उनले नेपालखबरसँगको कुराकानीमा भने, 'घुसपैठ गर्नेले प्रहरी जलाए पनि हामीले त समाज बनाउनु पर्छ नि भन्ने लाग्यो। पुलिस त हामीलाई चाहिने हो। आजै चोर आयो भन्दै गर्दा त पुलिस चाहिने नै हो रहेछ भन्ने त सबैलाई भयो होला नि।'

हिजो आवेगमा आएर प्रहरी चौकी जलाउनेहरूको सुरक्षा पनि त प्रहरीले नै दिनुपर्ने अवस्था आएको उनको भनाइ छ। 

'आवेगमा आएर पुलिस चौकी जलाए। त्यसकै दुई दिनदेखि पुलिस चाहिसक्यो। जनताको सुरक्षामा खटिने पुलिस डराएको छ। पुलिस डराएको समाज कस्तो होला भन्नु त?,' उनले थपे, 'मैले सबै उस्तै हुँदैन भनेर पुलिसकै मनोबल बढाउन, विश्वास दिलाउन यो काम गरेँ।'

उनले आफ्नो सोचलाई अन्य कमेडियन साथीहरूले हौसला दिएको र अन्य स्वयमसेवकहरूले यथार्थमा परिणत गर्न मद्दत गरेको पनि सुनाए।

'मैले चौकी निर्माणबारे सोचेँ। कमेडियन पुजन अधिकारीसँग कुरा पनि गरिरहेको थिएँ। उहाँले गरौँ भन्नुभयो। त्यस्तै अर्को कमेडियन सुमन कार्की दाइले पनि म पनि आउँछु गरौँ भन्नुभयो। अरु कमेडियन आउँछु भन्नुभयो,' निर्माणमा हौसला बढाउनेहरूलाई सम्झँदै उनले भने, 'इन्स्टामा मैले स्वयमसेवक चाहियो भनेँ। साथीहरू टन्नै आउनु भयो।'

उनका अनुसार अब ढल्को प्रहरी चौकीमा खाट ओछ्यानहरूको आवश्यकता रहेको र त्यसका लागि सरसामान जुटाउनेक काम भइरहेको छ। 

'अब त्यहाँ ओछ्यानमा चाहिने सामानहरू बाँकी छ। त्यसका लागि एक जना साथीले सहयोग गर्छु भन्नु भएको छ। नत्र म आफैँ पनि गरिहाल्छु' साजनले भने। 

साजन र उनका साथीहरूको टोलीले भदौ २९ र ३० गते दुई दिन लगाएर प्रहरी चौकीमा प्रहरी फर्किने र बस्न योग्य बनाएका हुन्। प्रहरी चौकी निर्माणका लागि आवश्यक खर्च सबै उनै साजनले व्यक्तिगत गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad