समाज


दुबईबाट बिदामा आएका अर्जुनको टाउकोमा प्रहरीको गोली : अधुरै रह्यो बिहे गरिदिने बुबाआमाको योजना

दुबईबाट बिदामा आएका अर्जुनको टाउकोमा प्रहरीको गोली : अधुरै रह्यो बिहे गरिदिने बुबाआमाको योजना

अनिल यादव
भदौ २६, २०८२ बिहिबार १९:३४, काठमाडौँ

दुबईको तातो घाममा सेक्युरिटी गार्डको काम गरेर पसिना बगाउँदा अर्जुन भट्टको मनमा एउटै सपना थियो— नेपाल फर्केर परिवारसँग खुसी बाँड्ने र जीवनमा केही गरेर देखाउने। गोरखा गण्डकी–४ स्थित ढावेका २८ वर्षीय अर्जुन डेढ वर्षअघि स्नातक पढ्दापढ्दै खाडी पुगेका थिए।

कसैमाथि अन्याय भएको देख्दा उनको आवाज सधैँ बुलन्द हुन्थ्यो। एक साताअघि मात्रै एक महिनाको बिदामा नेपाल फर्किएका थिए। फर्किंदै गर्दा उनलाई थाहा थिएन– यही बेला विद्रोहको महासंग्राममा होमिनुपर्नेछ र सहिद भइनेछ।

घर आएर उनले कीर्तिपुरमा आफ्ना बुबाआमासँग केही दिन मात्र बिताएका थिए। सोमबारको जेनजी आन्दोलनमा प्रहरीको दमनबाट १९ युवाको मृत्यु भएको खबर भयो। पहिलोदिनको आन्दोलनलाई घरबाटै नियालिरहेका अर्जुनले त्यो खबर सुनेपछि सहन सकेनन्। सायद उनको धैर्यको बाँध टुट्यो। क्रोध र आक्रोशको ज्वालाले उनको हृदयलाई यसरी पोलेको थियो– उनले सडकमा ओर्लिने निश्चय गरे।

साँझ भिनाजु सन्तोष भण्डारीसँगको कुराकानीमा उनले आफ्नो मनको बह पोखे, ‘यो त अति भयो। भोलि म पनि जान्छु, आन्दोलनमा।’

सन्तोषले उनले हप्काउँदै सम्झाए– ‘ए भाइ, यत्रो दिन विदेश बसेर भर्खर आएका छौ, एक हप्ता मात्र भयो। आराम गरेर बस। यो राजनीतिमा नफस।’

तर, अर्जुनले सुनेनन्। उनको प्रस्ट अडान राखे– ‘म भोलि गइनँ भने ती १९ जना कलिला भाइबहिनी र साथीभाइको आत्माले सराप्छ। हामी नगए, कसले लड्छ? त्यसरी युवाहरूलाई मार्न पाइन्छ? अब त म जान्छु, जान्छु, जसरी पनि जान्छु।’ 

यो आवाजमा विद्रोहको भावना मात्र थिएन, कर्तव्यबोध र अन्यायविरुद्ध उभिने संकल्प पनि मिसिएको थियो। 

अर्जुनका बुबा आमा काठमाडौँस्थित कीर्तिपुरमा सानो होटल चलाएर बस्छन्। सन्तोषलाई भने पनि अर्जुनले आन्दोलनमा जानेबारे बुबाआमालाई खबर गरेका थिएनन्। मंगलबार बिहानै कसैलाइै थाहै नदिई अर्जुन आन्दोलनमा होमिए। बेलुकी भिनाजुसँग कुरा हुँदा ‘म निस्किन्छु’ भनेका थिए, तर कहिले र कसरी गए, कसैलाई पत्तो भएन। 

कालिमाटी प्रहरी वृत्तअगाडि आन्दोलनकारी र प्रहरीबीचको झडप उत्कर्षमा थियो। प्रहरीले गोलीको वर्षा गरिरहेको थियो।

सन्तोषका अनुसार अर्जुन आन्दोलनको अग्रपंक्ति थिएनन्, पछाडि उभिएका थिए। प्रहरी वृत्तको अगाडिबाट प्रहरीहरू पछाडि भाग्दै गर्दा गोली चलेको देखे। त्यसै क्रममा गोलीे अर्जुनको टाउकोमै लाग्यो। र, विदेशमा कमाएर स्वदेशमा रमाउने अर्जुनको सपना सदाका लागि अस्तायो। 

दिउँसो २ बजेतिर अर्जुनका बुबालाई खबर आयो– ‘तपाईंको छोरालाई गोली लागेको छ।’ 

साताअघि मात्रै दुबईबाट घर आएको छोराले आन्दोलनमा गोली खाएको खबर बुबाले पत्याउनै सकेनन्। बल्खुस्थित बयोधा हस्पिटल पुगेपछि थाहा भयो– दुबईबाट डेढ महिनाको बिदामा आएको छोरो, सदाका लागि बिदा भएछ। भोलिपल्ट बिहान मात्र सन्तोषको पहलमा उनको शवलाई टिचिङ अस्पताल महाराजगञ्ज लगियो। 

अविवाहित अर्जुनको निधनले परिवारलाई कहिल्यै नमेटिने घाउ दियो। यतिखेर परिवारका सदस्यहरू गहिरो तनाव र शोकमा छन्। उनीहरू अहिले कसैसँग कुरा गर्न चाहँदैनन्। उनीहरूले चलाउँदै आएको होटल पनि ठप्प छ। 

‘उहाँहरू कसैसँग कुरा गर्न चाहनुहुन्न। खाली रुनु मात्रै हुन्छ। उहाँहरूको एउटै गुनासो छ– मेरो छोरालाई किन टाउकोमा नै गोली हान्नुपरेको?’ सन्तोषले भने। 

परिवारको योजना थियो– अब अर्जुनलाई डेढ महिनाको बिदापछि दुबई फर्काउने, वर्षको अन्त्यततिर फेरि बोलाउने र बिहे गरिदिने। 

‘त्यो योजना पनि अब अधुरै रह्यो,’ सन्तोषले सुनाए। 

परिवारको अहिले एउटै आशा र अपेक्षा छ— राज्यले अर्जुनलाई सहिद घोषणा गरोस् र उनको बलिदानको उचित सम्मान होस्। उनी नेपालको उज्ज्वल भविष्यका लागि लड्ने एक साहसी युवाको रूपमा सधैँ स्मरणीय रहून्। 

कालिमाटीमा अर्जुनसँगै उदयपुर घर भएका २३ वर्षीय देवकुमार सुवेदीको पनि गोली लागेर मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ। 

सोमबार शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad