भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ। खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ।
समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ। राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। साढे तीन घण्टासम्म काठमाडौँबाट चन्द्रग्रहण देखिने छ।नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गर्ने र नैऋत्य र पश्चिमबाट राति १ः४१ बजे अन्त्य हुने अध्यक्ष ढकालले बताए। पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो। पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो।
यस्ताे छ ग्रहणसम्बन्धी आधुनिक एवं वैज्ञानिक धारणा
ग्रेगोरियन पात्रोले मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए।
चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ। टेलिस्कोप वा दुरविनको माध्यमले हेरेमा विस्तृतरुपमा देख्न सकिन्छ। वैज्ञानिक मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानीनोक्सानी नहुने अध्यक्ष भट्टराईले बताए।
आज राति ११ः१५ बजेदेखि बिहान ००ः३७ बजेसम्म चन्द्रमा पृथ्वीको सघन छायाँमा रहन्छ जसलाई खग्रास समय भनिन्छ । यो बेला चन्द्रमा रातो देखिन्छ । इन्टरनेटमा भनेजस्तो र राखिएको तस्बिर जस्तो नहुने उनले बताए। बाँकी समय पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्दै र छोड्दै जानेछ जुन समय खण्डग्रास समय हो। आफैँ हेरेर सही र गलत छुट्याउन सोसाइटीले सबैमा आह्वान गरेको छ।
एक्काइसौँ शताब्दीमा पर्ने ८५ वटा चन्द्रग्रहणमध्ये यो एक भएको उनकाे भनाइ छ। ‘तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्घिहुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्छन्’, उनले भने।
सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन विभिन्न सावधानी अपनाइन्छ । चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन्। चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीले हेर्दा केही असर गर्दैन।
चन्द्रग्रहणमा आँखालाई हानीनोक्सानी पुर्याउउने खालका किरण आएका हुँदैनन्। वैज्ञानिकले समेत ग्रहणका समयमा साधना गरेको उदाहरण छ। विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए भनिन्छ।
खगोलविद् तथा वैज्ञानिकहरुका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर मानिन्छ। ग्रहणको प्रभाव केवल मानवजातिमा मात्र नभइ पशुपक्षीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्य बताउँछन्।
यो खग्रास चन्द्रग्रहण नेपालको सबै भागबाट देखिने बिपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ। नेपालका साथै यूरोप, अफ्रिका, र एसिया र अष्ट्रेलियाबाटसमेत आज रातिको चन्द्रग्रहण देखिने समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए।
यो चन्द्रग्रहण उत्तर तथा दक्षिण अमेरिकाबाट भने देखिने छैन। ग्रहणको समयमा यो रातो देखिने हुनाले यसलाई रक्तिमचन्द्र पनि भनिन्छ। आज राति ९ः१३ बजेदेखि नै विरल छायाँले ढाक्न सुरु गर्ने समितिले जनाएको छ।
राति ११ः१५ बजेदेखि खग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्नेछ। राति ११ः५६ बजे खग्रास ग्रहणको मध्य समय हुनेछ। राति १२ः३७ बजेदेखि खग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्न छोड्ने समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राति ०२ः४० बजे विरल छायाँले ढाक्न छोड्नेछ।
चन्द्र ग्रहण खाली आँखाले अवलोकन गर्न सकिने र वैज्ञानिक रूपमा हालसम्म मानव जीवनमा ग्रहणको कुनै पनि नकारात्मक प्रभाव रहेको तथ्याङ्क प्राप्त नभएको समितिले जनाएको छ।
यस्ताे छ ग्रहणका विषयमा परम्परागत धारणा
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता छ। ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा र नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा.तोयराज नेपालले बताए।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् नेपालकाे भनाइ छ। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले सुनाए ।
कुन राशिलाई कस्तो छ आज रातिको चन्द्रग्रहण
आज रातिको चन्द्रग्रहण हेर्दा मेष राशिलाई लाभ मिल्छ। वृष राशिलाई सुख, मिथुन राशिलाई माननाश हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । यसैगरी कर्कटलाई कष्ट, सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता, वृश्चिकलाई खर्च हुने योग देखिएको छ।
धनु राशिलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीनलाई खर्चको योग रहेको पनि समितिले जनाएको छ। शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशि भएका व्यक्तिलाई आज रातिको चन्द्रग्रहण अतिकष्टदायक रहेको पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। रासस
Shares

प्रतिक्रिया