समाज


बन्दाबन्दीका बेला प्रदेश ५ मा १७ बलात्कार, ३० आत्महत्या

बन्दाबन्दीका बेला प्रदेश ५ मा १७ बलात्कार, ३० आत्महत्या

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ५:५०,

बन्दाबन्दी (लकडाउन) का बेला प्रदेश नम्बर ५ मा बलात्कारका १७ घटना भएका छन्। लकडाउनयता २४ दिनभित्र प्रदेशका ८ जिल्लामा १७ महिला बलात्कृत भएको दाङस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि यही वैशाख १५ गतेसम्मका लागि देशभर लकडाउन लागू गरेको छ।

प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन्। प्रदेशमा सबैभन्दा बढी रूपन्देहीमा बलात्कारका पाँच घटना भएका छन्।

त्यसपछि कपिलवस्तुमा चार, गुल्मी र बाँकेमा दुई/दुई तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा एकएक घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए।

बन्दाबन्दीमा बर्दियामा जर्बजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता भएको छ। घटनामा संलग्नलाई पक्राउ गरी जर्बजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता पोखरेलले बताए।

पछिल्लो एक हप्तामा रूपन्देहीमा तीन युवती बलात्कारमा परेका छन्। रूपन्देही जिल्ला प्रहरी कार्यालयका अनुसार सैनामैना नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकाका युवती बलात्कारमा परेका हुन्।

गत मंगलबार रूपन्देहीको सैनामैना १ मा १५ वर्षीया किशोरीलाई बलात्कार गरिएको हो। बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय मानबहादुर छहारीलाई पक्राउ गरेको छ।

पीडितको परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही वडाबाटै छहारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय (बुटवल)का प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। ती किशोरीलाई छहारीले आफ्नै घरमा बोलाएर दिउँसै बलात्कार गरेको उजुरीमा उल्लेख छ।

यस्तै गत चैत २९ गते सूर्यपुरा ९ मा बाबुले आफ्नै १५ वर्षीया छोरी बलात्कार गरेका छन्। एक वर्षदेखि बलात्कार गरेको भन्ने बालिकाको बयानका आधारमा ४० वर्षीय उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोही दिन मर्चवारीमा २२ वर्षीय युवती बलात्कृत भएकी छन्। बलात्कार आरोपमा स्थानीय १८ वर्षीय राजेश चौहानलाई प्रहरीले पक्राउ गरेको छ।

यस अवधिमा घरेलु हिंसाका १२ मुद्दा पनि दर्ता भएको प्रदेश प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिए। घरेलु हिंसाका उजुरी धेरै परे पनि मुद्दा कम दर्ता भएका छन्। सबैभन्दा धेरै बाँके र दाङमा चार/चार, रोल्पामा दुई र पाल्पामा एक घरेलु हिंसाका मुद्दा दर्ता भएका छन् ।

बन्दाबन्दीमा आत्महत्याका ३० घटना पनि भएका छन्। प्रदेशका पाल्पा र बाँकेबाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको रिपोर्ट आएको प्रहरीले जनाएको छ।

सबैभन्दा बढी रूपन्देहीमा नौ जनाले आत्महत्या गरेका छन्। त्यसपछि दाङमा ६ र कपिलवस्तुमा ४ जनाले आत्महत्या गरेका छन्।

नवलपरासीमा तीन, अर्घाखाँची र रुकुममा दुई/दुई तथा गुल्मी, बर्दिया, रोल्पा र प्युठानमा एक/एक जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ।

बन्दाबन्दीमा एउटा यौन दुर्व्यवहारसम्बन्धी मुद्दा पनि दर्ता भएको छ । अर्घाखाँचीमा बालविवाह र बहुविवाहको एक÷एक घटना पनि दर्ता भएको प्रहरीले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad