कोरोना भाइरस (कोभिड-१९) बाट नेपालबाहिर २८ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ, उच्चस्तरीय स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा १७ नेपालीले ज्यान गुमाएका छन्।
विदेशस्थित अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली दूतावास, एनआरएनए शाखा तथा स्थानीय संघसंस्थाले उपलब्ध गराएको सूचना आधारमा यो तथ्यांक संकलन गरिएको स्वास्थ्य समितिले जनाएको छ।
कोरोनाबाट अमेरिकामा ८, युएईमा २, आयरल्यान्डमा १ नेपालीले ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ। यो तथ्यांक शनिबार रातिसम्मको हो।
विस्तृत जानकारीका लागि हेर्नुहोस् चार्ट

‘विश्वभरि छरिएका नेपालीमध्ये २१ देशमा रहेकाहरु कोरोना भाइरसबाट संक्रमित देखिएका छन्। हामी त्यसको सुक्ष्म अनुसन्धान गरिरहेछौं’, स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटा भन्छन्।
समितिको तथ्यांकअनुसार १ हजार १ सय ३५ जना नेपाली संक्रमित पाइएका छन्। यो नेपालमा संक्रमित नेपालीको संख्या बाहेक हो। देशबाहिर संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिकामा ७ सय नेपाली छन्।
कहाँ कति नेपाली संक्रमित हेर्नुहोस् चार्ट

पछिल्लो ताजा तथ्यांकलाई आधार मानेर राहत वितरण कसरी गर्ने भन्ने सम्बन्धमा एनआरएनए कोभिड—१९ उच्चस्तरीय समितिको बैठक आज आइतबार बस्ने तयारी छ। उच्चस्तरीय समिति अध्यक्ष कुमार पन्त नेतृत्वमा छ।
यसअघि एनआरएनले ८२ देशमा फैलिएको आफ्नो सञ्जाललाई कोरोना केन्द्रित गरेको थियो। महामारीले गैरआवासीय नेपालीमा स्वास्थ्य मात्र नभई सामाजिक, आर्थिक र मनोवैज्ञानिक असर परेको सो अध्ययनले देखाएको छ।

प्रतिक्रिया