ल्हासा स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच भेटवार्ता भएको छ।
बुधबार महावाणिज्यदूत निरौलाले महावाणिज्यदूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै पहिलो पटक महावाणिज्यदूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गरे। उनले नेपाल चीनबीचको ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पुर्याएको साथ र सहयोगका लागि समेत धन्यवाद दिए।
त्यसै गरी महावाणिज्यदूत निरौलाले हालसालै चीन र भारतबीच लिपुलेक नाका सञ्चालनका सन्दर्भमा भएको सहमतिमा चासो राख्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको तथा नेपाल र चीन दुबै राष्ट्रले हालसम्म एक आपसको सार्वभौमसत्ताको सम्मान गरिरहेको परिप्रक्ष्यमा सोही अनुसार व्यवस्थापनका लागि अनुरोध गरेका थिए।
उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीको कुरा उठाएपछि महानिर्देशक तिङले यो कुरालाई माथिल्लो तहमा पुर्याउने बताएका थिए। ‘उहाँको तहमा केही भन्ने कुरा भएन,’ निरौलाले नेपालखबरसँग भने, ‘तपाईंहरुको कुरालाई तालुकदार परराष्ट्र मन्त्रालयमा पठाउँछु भन्नुभयो।’
त्यस्तै भेटमा यो वर्ष नेपाल र चीनबीच कूटनैतिक संबन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव भएकाले विविध कार्यक्रमहरु आयोजना भइरहेका उल्लेख गर्दै पारस्पारिक सद्भाव, एकअर्काको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित भई दुबै देशबाट भइरहेका कार्यले संबन्धमा थप बल पुगेको निरौलाले बताएका थिए। 
उनले गत असार २४ मा ल्हेन्दे खोलामा गएको बाढीका कारण त्यहाँ रहेको नेपाल चीन मैत्री पुल बगाएपछि नेपाली नागरिकलाई तात्काल सुरक्षित स्थानमा व्यवस्थित रुपमा राखेको, दुई पटक गरेर ३७४ जना नेपालीहरलाई नेपाल पठाउन मद्दत पुर्याएको, सो स्थानमा फलामे पुल निर्माण गरिरहेकोमा धन्यवाद दिंदै पुल निर्माणमा तीब्रता प्रदान गर्न, सम्भव भएसम्म त्यहाँ ह्युम पाइप राखेर अस्थायी ब्यवस्था गर्न र त्यहाँको गोदाममा नेपाल लैजाने गरी राखिएको सामान नेपाल पठाउन सहजीकरणका लागि अनुरोध पनि गरेका थिए।
महानिर्देशक तिङले नेपाल–चीन संबन्धलाई सुदृढ बनाउन हालसम्म गरिएका संयुक्त प्रयासहरुमा महावाणिज्यदूतावासबाट भएको योगदानका लागि धन्यवाद ज्ञापन गरे भने रसुवा नाका व्यवस्थापनका कार्यमा तीब्रता दिइएको बताए।
उनले नेपाल र चीनबीच हुने वाणिज्य ब्यापारको मुख्य आधारका रुपमा रहेका रसुवागढी र तातोपानी नाकालाई व्यस्थापन गर्न र किमाथांका नाका सञ्चालन गर्न चीन सरकार तत्पर रहेको बताउँदै यसका लागि संयुक्त प्रयास जरुरी भएको बताए। यसका साथै सो अवसरमा उनले दुई देश र नागरिकहरुको हितमा हुने कार्यमा सहकार्य गर्न तत्पर रहेको बताए।
Shares

प्रतिक्रिया