ad ad

समाज


सर्केटारी समाज र आमा समूहको अगुवाईमा हिँडेरै घर फर्किरहेका मजदुरलाई खाना

सर्केटारी समाज र आमा समूहको अगुवाईमा हिँडेरै घर फर्किरहेका मजदुरलाई खाना

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ६:२४,

स्याङजा फेदीखोलामा स्थानीय आमा समूह र सर्केटारी समाजले लकडाउनका कारण विभिन्न स्थानबाट हिँडेरै घर फर्किरहेका मजदुरहरुलाई खाना खुवाएका छन्।

 स्याङ्जाको फेदिखोला गाउँपालिकाको सर्केटारीमा स्थानीय आमा समूह र सर्केटारी समाजले कास्कीको नयाँ पुल, बागलुङ, तनहुँदेखि पैदल हिँडेर आएका मजदुरहरुलाई खाना खुवाएका हुन्।

आमा समूह र समाजले बिहीबार, शुक्रबार र शनिबार मजदुरहरुलाई खाना खुवाएका हुन्।

लामो दूरबाट हिँड्दै आएका ती मजदुर भोकले लखतरान परेर थिए। कतिपय मजदुर बेखर्चीसमेत भएका थिए।

ठाँउठाउँमा स्थानीय सरकारको अवरोधहरु छिचोलेर स्याङ्जाको सर्केटारीसम्म आइपुगेका ती मजदुरहरुको दयनीय अवस्था देखेर स्थानीयबासीका आँखा रसाएको स्थानीय समाजसेवी सुवास पौडेलले बताए।

‘लामो दूरी चाउचाउ र चिउराको भरमा आउनुभएको रहेछ, कतिपय त बेखर्ची समेत हुनुहुँदो रहेछ’, पौडेलले भने, ‘उहाँहरुको अवस्था देखेपछि हामीले खाना खुवाएर पठायौँ।’

कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल सरकारले पटकपटक लकडाउन गरेपछि ती ज्यालादारी मजदुरहरु मर्कामा परेका थिए।

हात मुख जोर्नै समस्या परेपछि मर्नुभन्दा बहुलाउनु निको भन्दै पैदलै हिँडेर भए पनि घरको यात्रामा निस्केका थिए।

सर्केटारी समाज र स्थानीय आमा समूहले स्वागत गरेर खाना खुवाएपछि स्थानीयवासीलाई धन्यवाद दिंदै आफ्नो गन्तव्यतर्फ लागेको स्थानीय सामजसेवी दिवाकर सुवेदीले बताए। उनले भोकाएका पैदलयात्री मजदुरहरुलाई स्थानीयको सक्रियतामा तीन दिनदेखि खाना खुवाउँदै आएको र यसलाई निरन्तरता दिने बताए।

सडकमा भोकै हँिड्ने मजदुरलाई खुवाउनका लागि आमा समूह र समाजको अगुवाईमा स्थानीयले घरघरबाट चामल र पैसा उठाएर यसको व्यवस्थापन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .