समाज


दुई मोटरसाइकल आपसमा ठोकिँदा स्ववियु सभापतिसहित २ युवकको मृत्यु, १ घाइते

दुर्घटनामा परेको अर्को मोटरसाइकलका चालक २५ वर्षीय युवक पक्राउ
दुई मोटरसाइकल आपसमा ठोकिँदा स्ववियु सभापतिसहित २ युवकको मृत्यु, १ घाइते

दुर्घटनामा ज्यान गुमाउने शिरिस बस्नेत र श्याम बहादुर खत्री


नेपालखबर
भदौ ११, २०८२ बुधबार ७:३४, काठमाडौँ

दोलखाको भीमेश्वरमा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु भएको छ।

दोलखा सदरमुकाम चरिकाेटमा रहेकाे गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ।

गएराति करिब साढेनौ बजेतिर भीमेश्वर नगरपालिका-६ स्थित रमितेडाँडामा बा.५३ प ८८९९ र बा.प्र.०२-०३४ प ३२४२ नम्बरका दुई माेटरसाइकल आपसमा ठाेकिएर भएकाे दुर्घटनामा स्ववियु सभापति २४ वर्षीय शिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाेलखाका इन्सपेक्टर श्रीराम तिमल्सिनाले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा च्छोरोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो। अनेरास्ववियुका नेता बस्नेत गएकाे चैतमा भएकाे स्ववियु निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीसँगकाे गठबन्धनबाट गौरीशङ्कर बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा निर्वाचित भएका थिए। 

बस्नेत भीमेश्वर नगरपालिका वडा नम्बर-५ माटीका स्थानीय बासिन्दा हुन्। उनले चलाएको बा.५३ प ८८९९ नम्बरकाे मोटरसाइकलमा बैतेश्वर गाउँपालिका-३ मिर्गे घर भएका २६ वर्षीय सुजन भनिने श्याम बहादुर खत्री पनि सवार थिए। दुर्घटनामा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु जिरी सड्क खण्डमा बा.प्र.०२-०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा बा.प्र.०२-०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ बस्ने २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको इन्सपेक्टर तिमल्सिनाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad