धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाटोमा शंकास्पद रूपमा नेपाली नोट (रुपैयाँ) फालेर फरार भएका दुई महिलाको तीव्र रूपमा खोजी भइरहेको प्रहरीले जनाएको छ।
ती महिलाले कोरोना भाइरसको संक्रमण फैलाउन बाटोमा त्यसरी नोट फालेको हुन सक्ने आशंका स्थानीयले गरेका छन्।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) रामेश्वर कार्कीले सीसीटीभी फुटेजका आधारमा नोट छरेर भाग्ने ती दुई महिलाको व्यापक रूपमा खोजी भइरहेको बताए।
‘सीसीटीभी फुटेजमा ती दुई महिला ३५ देखि ४० वर्षसम्मका देखिन्छन्,’ शुक्रबार राति डीएसपी कार्कीले नेपालखबरसँग भने, ‘सीसीटीभी फुटेजमा उनीहरूले नोट फालेको त देखिन्न तर स्थानीयलाई देखाउँदा नोट फाल्ने उनीहरू नै भएको बताएका छन्।’
उनका अनुसार दुई अपरिचित महिलाले शंकास्पद ढंगले बाटोमा नोट फालेको भनेर स्थानीय खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।
‘जनकपुर उपहानगरपालिका वडा नम्बर ६, पिठिया भन्ने हाट बजार लाग्ने स्थानको बाटोमा १० रुपैयाँका जम्मा १२ वटा नोट एक/डेढ मिटरको फरकमा फालेका रहेछन्,’ डीएसी कार्कीले भने, ‘ती सबै नोट प्रहरीले सुरक्षित तवरले बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ।’
कोरोना भाइरस भएको हुन सक्ने आशंकामा प्रहरीले ती नोट जनकपुुर प्रादेशिक अस्पताल पठाएको थियो।
तर नोटमा कोरोना छ कि छैन भनेर नेपालमा मात्र होइन, विश्वमा कहीं पनि परीक्षण नहुने भन्दै चिकित्सकले फर्काइदिएपछि पुनः ती नोटलाई जिल्ला प्रहरी कार्यालयमै ल्याएर सुरक्षित राखिएको प्रव्रक्ता कार्कीले जानकारी दिए।
नोटको परीक्षण हुन नसक्ने भएकाले ती महिला पक्राउ नपर्दासम्म के प्रयोजनका लागि ती नोट फालिए भन्ने एकिन नहुने उनको भनाइ छ।
प्रतिक्रिया