पशुपति आर्यघाटमा शवबाट हड्डी निकालेर किनबेच गरिएको घटनाले त्यहाँ आँखाको नानी संकलन अभियानमा असर पुगेको छ।
काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालको आँखा बैंकको टोलीले पशुपतिमा लगिने शवका आँखा मागेर दृष्टिविहीन बालबालिकामा प्रत्यारोपण गर्ने अभियान सञ्चालन गरिरहेको छ।
तर हालै पशुपति आर्यघाटमा जलाउन राखिएको शवबाट हड्डी झिकेर बेच्ने गरिएको खुलासा भएपछि कर्निया संकलनमा कमी आएको आँखा बैंकका काउन्सिलर (परामर्शदाता) सुन्दर महतले बताए।
गत साउन २३ गते पशुपतिमा शवबाट हड्डी निकालेको आरोपमा केही व्यक्ति पक्राउ परेयता एउटा पनि आँखा संकलन हुन नसकेको उनले बताए।
यसअघि कुनै-कुनै दिन मात्र खाली हात हुने गरेकामा त्यसयता लगातार ५ दिन आँखा प्राप्त हुन नसकेको महतले जानकारी दिए।
तथापि, नानी संकलनको दर घट्नुको कारण उक्त घटना मात्र नभएर शव नै कम ल्याइएको पनि हुन सक्ने उनी बताउँछन्।
‘तर लासबाट हड्डी निकानेको खबरले मानिसमा नकारात्मक छाप पर्न गएको छ’, उनले नेपालखबरसँग भने, ‘जसले गर्दा तिमीहरू पनि हड्डी झिक्नेजस्तै तस्कर त हैनौ भन्ने आरोप सुन्नुपरिरहेको छ।’
त्यसो त आँखा संकलन गर्ने काम आफैँमा कठिन हो। शोकाकुल परिवार तथा आफन्तजनलाई सम्झाइबुझाइ गरेर नानी संकलन गर्नुपर्छ। त्यहीमाथि शवको हड्डी कारोबार भएको घटना बाहिरिएपछि आँखा संकलनमा ठूलो असर पुगेको महतले बताए।
‘तर धैर्य गरेर हामी तस्कर होइनौँ, हामी तिलगंगा आँखा अस्पतालको आई ब्यांक (आँखा बैंक) बाट आएका हौँ भनेर कार्ड देखाउने गरेका छौँ’, उनले भने।
महतका अनुसार उक्त आँखा बैंकले विगत ३१ वर्षदेखि पशुपति गएर शवका आँखा संकलन गरी बालबालिकाको ज्योति फर्काउने काम गरिरहेको छ।
‘हड्डी निकालिएको घटना हुनुभन्दा पहिले मासिक औसत २५/३५ वटा नानी संकलन हुने गर्थ्यो। असार महिनामा २६ वटा नानी संकलन गरिएको थियो’, उनले भने, ‘साउनमा भने १६ वटा मात्र नानी संकलन भएको छ।’
Shares

प्रतिक्रिया