पूर्वमन्त्री एवं कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी जोडिएको मितेरी सहकारी ठगी प्रकरणका तीन अभियुक्तको बयान आज छैटौँ दिन पनि हुँदै छ।
ललितपुर जिल्ला अदालतमा न्यायाधीश निर्मला योङयाको इजलासमा यस मुद्दाको सुनुवाइ चलिरहेको छ।
भदौ १ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा २ गतेदेखि बयान सुरु भएको हो। बयान र थुनछेक बहस नसकिएपछि प्रत्येक दिन हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।
८ जना प्रतिवादी रहेको यस मुद्दामा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको छ।
पक्राउ परेका अभियुक्तहरू बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्रीको बयान सकिएपछि उनीहरूलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउने कि बाहिरै बसेर मुद्दा लड्न दिने भन्ने विषयमा बहस हुनेछ।
धनराजपत्नी ज्योति गुरुङसहित ५ जना फरार छन्।
फरार रहनेमा स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदीप भन्ने प्रीतम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अराम रहेको अभियोगपत्रमा उल्लेख छ।
ठगी, लिखत कसुर, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधमा उनीहरूविरूद्ध मुद्दा चलाइएको छ।
अभियुक्त थोरै भए पनि मुद्दा धेरै भएकाले थुनछेक बहस सकिन समय लागेको अदालत प्रशासनको भनाइ छ।
-
मितेरी सहकारी ठगीमा धनराज गुरुङकी पूर्वपत्नी ज्योतिकै मुख्य भूमिका
-
मितेरी सहकारी ठगीमा धनराज गुरुङको बयान: घर बेचेर मेरो र ज्योति गुरुङको कर्जा चुक्ता गरेको हुँ
Shares

प्रतिक्रिया