समाज


यूएईको जेलमा छन् ४७३ नेपाली, मूल कारण मदिरा

हरेक महिना औसतमा २६ नेपालीको ज्यान जान्छ
यूएईको जेलमा छन् ४७३ नेपाली, मूल कारण मदिरा

अबुधाबीस्थित नेपाली राजदूतावास


सन्तोष अधिकारी
भदौ ६, २०८२ शुक्रबार १८:४६, काठमाडौँ

परिवारको सुख-सपना पूरा गर्ने चाहना कसलाई हुँदैन र? दिनहुँ विमानस्थलबाट त्यही सपना पच्छयाउँदै खाडी देश पुग्छन् हजारौँ नेपालीहरू। सुखद् भविष्यको कल्पनामा उनीहरूलाई बिदा गरेपछि आँसु चुहाउँदै फर्किन्छन् परिवारका सदस्य पनि।

तर, गन्तव्यमा पुगेपछि सपना पच्छयाउनुको साटो गलत बाटोमा हिँड्दा वैदेशिक रोजगारी केही नेपालीको युवाको लागि भने अभिशाप बनेको छ।

गएको हप्ता मात्रै कुवेतमा विषाक्त रक्सी सेवन गर्दा १२ नेपालीको ज्यान गयो। १३ जना अझै अस्पतालमा छन्। उनीहरूमध्ये ७ जनाको उपचार आईसीयूमा जारी छ।

यहाँ भने हामी यूएईको विषय उल्लेख गर्दैछौँ। 

खाडी मुलुक संयुक्त अरब एमिरेट्स (यूएई) मा पनि नेपालीको हालत उस्तै छ। यूएईमा पनि ७ लाख बढी नेपाली रहेको त्यहाँस्थित नेपाली दूतावासको तथ्यांक छ। नेपालीहरू निर्माण क्षेत्रमा, स्टोरमा, क्लिनिङदेखि आईटी क्षेत्रसम्म कार्यरत छन्।

तर, यहाँ रोजगारीका लागि गएका नेपाली श्रमिकहरू विभिन्न समस्यामा परिरहेका छन्। सुरुमै सीप नसिकी जाँदा १५-२० दिनमै वा एक–दुई महिनामै काम छोड्ने प्रवृत्ति बढ्दो छ।

श्रमिकहरूको कन्ट्र्याक्ट दुई वर्षको भए पनि काम गर्न नसकी कतिपय नेपाली स्वदेश फर्कन बाध्य हुने गरेको पाइएको यूएईस्थित नेपाली राजदूतावासकी उपप्रमुख रन्जिता दाहालले बताइन्।

'सुरुमै सीप नसिकी आउने नेपालीको संख्या धेरै छ। यस्तो हुँदा १५-२० दिनमै, एक-दुई महिनामै काम छोड्ने पनि उत्तिकै छन्, 'उनले नेपालखबरसँगको कुराकानीमा भनिन्, 'उनीहरूको सुरुको कन्ट्र्याक्ट अवधि २ वर्षको हुन्छ तर उनीहरू काम गर्न नसकेर छोडेर स्वदेश फर्किने गर्छन्।'

सम्झौताअनुसार कम्पनीमा टिक्न नसक्दा कम्पनीबाट पाउने सेवा सुविधाबाट बञ्चित हुने र उल्टै ऋणमा डुबेर फर्किनेको संख्या पनि उत्तिकै रहेको उनी बताउँछिन्। 

म्यानपावर कम्पनीले पनि झुक्याउँछन्
समस्यामा परेका नेपाली श्रमिकहरूले बताएअनुसार वैदेशिक रोजगार व्यवसायीले प्रलोभनमा पार्दा पनि समस्या बढिरहेको उनको भनाइ छ।

'मेन पावरले एउटा तलब भन्ने, श्रमिकले पाउने अर्कै हुने समस्या पनि उत्तिकै छ,' उनले थपिन्, 'नेपालीहरूले एग्रिमेन्ट पेपर नपढी हस्ताक्षर गर्दा पनि समस्या निम्तिइरहेको छ।'

रक्सी सेवनसँगै आपसी झगडा
दाहालका अनुसार खाडी मुलुकमा भएका नेपालीहरू मुख्य समस्या भने मदिरा सेवन बनिरहेको छ। कामको समयमा काम गर्ने र फर्किएपछि मदिरा सेवन गरेर आपसमा झगडा गर्ने गरेको पाइएको छ।

'यहाँको कानुनको पालना नगर्दा नेपाली कारबाहीमा परिरहेका छन्। रक्सी खाने, आपसमा झैझगडा गर्ने, २-३ महिना जेल बस्ने निस्किने पनि छन्। यसरी निस्केकाहरू अधिकांश स्वदेश फर्किन्छन्,' उनले भनिन्।  

यसबाहेक लागुऔषधको फन्दामा पर्नेको संख्या पनि बढ्दै गएको छ। कतिपय नेपालीले नबुझी अरूको सामान बोकिदिँदा पक्राउ परेका छन्।

'नेपालीहरू जाने नजानेर अरुको सामान बुझिलिने, एक ठाउँबाट अर्को ठाउँमा लगिदिँदा लागुऔषध पनि पर्ने गरेको पाइयो,' उनले भनिन्, 'यस्तो बेलामा उनीहरू रंगेहात पक्राउ पर्छन् तर उनीहरू कतिलाई थाहै नहुने अवस्था पनि देखिएको छ।'

यूएईको जेलमा छन् ४७३ नेपाली
यूएईमा कानुन उल्लंघन गर्नेमा नेपालीहरू अगाडि नै छन्। अहिलेसम्म त्यहाँको जेलमा रहने नेपालीको संख्या ४७३ छ। अघिल्लो वर्ष २४२ जना नेपाली त्यहाँस्थित जेलमा रहेकोमा यसपटक ४७३ पुगेको हो। त्यसमध्ये धेरै मदिराकै कारण जेल परेको उनको भनाइ छ।

दाहालले यसरी विदेश जाने श्रमिकलाई पालिका तहमै त्यहाँको नीति नियमबारे जानकारी गराउन सके अपराधको घट्ने बताइन्।

साउनमा मात्रै ३२ नेपालीको ज्यान गयो
यूएईमा पछिल्लो महिना मात्रै ३२ नेपालीले ज्यान गुमाएका छन्। दूतावासका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ३२ नेपालीले ज्यान गुमाएका हुन्।

अघिल्लो वर्ष पनि साउन महिनामा ३० नेपालीले ज्यान गुमाएका थिए। आर्थिक वर्ष ०८१/०८२ मा ३१२ मा जना नेपालीको निधन भएको दूतावासले जनाएको छ।

त्यस्तै आर्थिक वर्ष ०८०/८१ मा २३१ जना नेपालीले ज्यान गुमाएका थिए। नेपालीको ज्यान जानुको कारण भने सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत रहेको दूतावासले जनाएको छ। गत आर्थिक वर्षमा औसतमा हरेक महिनामा २६ नेपालीले ज्यान गुमाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad