समाज


नेपाल प्रवेश गर्न नपाएपछि सीमामा अलपत्र परे दूधे छाेरी बोकेका यी दम्पती

नेपाल प्रवेश गर्न नपाएपछि सीमामा अलपत्र परे दूधे छाेरी बोकेका यी दम्पती

गोकुल जोशी
बैशाख ५, २०७७ शुक्रबार ५:५६,

भारतबाट दूधे छाेरी बोकेर स्वदेश फर्किरहेका नेपाली दम्पतीलाई सीमाका नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नदिएपछि अलपत्र परेको छ। भारतमा १४ दिन क्वारेन्टिन बसेर स्वदेश फर्किरहेका कैलालीका दुई जनालाई नेपालतर्फका सशस्त्र प्रहरीले नेपाल छिर्न नदिएको हो।

ala22

कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि यतिबेला नेपाल र भारत दुवैतर्फ लकडाउन छ। यसै क्रममा भारतमा मजदुरी गर्ने  कैलालीका अमर विष्ट र उनकी श्रीमती हरिना विष्टलाई स्वदेश फर्किरहेका बेला सीमा-नाकाबाट भारततिरै फर्काइएकाे हाे। 

दुई वर्षकी बच्ची च्यापेर टनकपुर नाका हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका-९, ब्रह्मदेव आइपुगेका उनीहरूलाई नेपाली पक्षका सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न नदिएको हो।

सीमामा जाँच गर्ने क्रममा कुनै कागजात नभेटिएपछि नाका प्रवेश गर्न नदिइएको ब्रह्मदेवस्थित बोर्डर आउट पोस्ट ९बीओपी० का सशस्त्र प्रहरी निरीक्षक रामराज खनाले बताए।

‘क्वारेन्टिनमा बसेको कागज थियो, क्वारेन्टिनबाट उनीहरूलाई घरमै सुरक्षित बस्न भनिएको रहेछ। उनीहरू नेपाल भित्रिन खोजिरहेका थिए,’ सशस्त्र प्रहरी निरीक्षक खनालले नेपालखबरसँग भने, ‘हामीले प्रवेश गर्न दिएनौं।’

विष्ट दम्पती भारतको उत्तराखण्ड रानीखेतस्थित कालाखेत भन्ने ठाउँमा सडक निर्माणको काम गरिरहेका थिए। तर लकडाउनले कामकाज बन्द भएपछि दुई साताअगाडि दूधे छाेरी बोकेर उनीहरू कालाखेतबाट पैदलै खटिमा पुगेका थिए।

त्यहाँ एक स्कुलमा ३ दिनसम्म आश्रय लिएर बसेका उनीहरूलाई क्वारेन्टिनमा राख्न पन्तनगर भन्ने स्थानमा लगिएको थियो। १४ दिन पूरा भएपछि उनीहरूलाई क्वारेन्टिनबाट बिदा दिइएकाे थियो।

त्यसपछि उनीहरू भीमदत्त नगरपालिका-९ नजिकै महाकाली पारी टनकपुर पुगे र त्यहाँबाट पैदलै ब्रह्मदेवतर्फ आउँदा सशस्त्र प्रहरीले रोकेको हो। घर आउन नपाएपछि उनीहरू सीमामै अलपत्र परेका छन्।

सशस्त्र प्रहरी निरीक्षक खनालका अनुसार भीमदत्त नगरपालिका-९ मटेनामा विष्टका आफन्त रहेको खुलेको छ।

‘भारतीय क्वारेन्टिनमा रहँदा उनीहरूसँग अरू नेपाली रहेनछन्, क्वारेन्टिनमा रहँदा उनीहरूले आफूहरू भारतकै मान्छे हो भनेको कुरा खुल्न आएको छ,’ सशस्त्र प्रहरी निरीक्षक खनालले भने, ‘त्यसपछि उनीहरूलाई घरमै सुरक्षित बस्नु भनेर छाडिएपछि यहाँ आएका हुन।

अहिले भने उनीहरू टनकपुरको एक होटलमा क्वारेन्टिनमा बसेको सशस्त्र प्रहरी निरीक्षक खनालले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .