वरिष्ठ चिकित्सक तथा शिक्षा-स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजमा सिट बढाउने चिकित्सा शिक्षा आयोगको निर्णयको कडा विरोध गरेका छन्।
आयोगले निजी मेडिकल तथा डेन्टल कलेजहरूमा उल्लेख्य संख्यामा सिट वृद्धि गर्ने निर्णय गरेकोप्रति शनिबार विज्ञप्ति जारी गरेर उनले असन्तोष जनाउँदै उनले सत्याग्रह (अनसन)सहितको आन्दोलन गर्ने चेतावनी दिएका छन्।
ग्रामीण भेगमा स्वास्थ्य सेवा अभाव हुँदाहुँदै पनि सरकारले निजी मेडिकल कलेजहरूलाई मात्र प्रोत्साहन गर्ने प्रवृत्तिले आम नागरिकलाई सस्तो, गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित बनाइरहेको डा. केसीको आरोप छ।
‘त्रिवि शिक्षण अस्पतालमा आधारभूत पूर्वाधारको कमी देखाउँदै १०० जना विद्यार्थी भर्नामा हिचकिचाउने सरकारले, कम पूर्वाधार भएका निजी कलेजलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण हो,’ उनले भनेका छन्।
निजी मेडिकल कलेजहरूमा हुने मुनाफामुखी गतिविधि, आवासीय चिकित्सकहरूमाथिको श्रमशोषण र शिक्षण शुल्क बढाउने तयारीप्रति पनि गम्भीर आपत्ति जनाएका छन्।
सरकारलाई तुरुन्त सिट बढाउने निर्णय फिर्ता लिन, शुल्क बढाउने कदम खारेज गर्न र आवासीय चिकित्सकलाई सरकारी चिकित्सक सरहको भत्ता उपलब्ध गराउन पनि डा. केसीले माग गरेका छन्।
साथै, विगतमा आफूले राखेका माग र सरकारसँग भएका सम्झौता तत्काल कार्यान्वयन नगरे सडक आन्दोलनमा उत्रने चेतावनी पनि उनले दिएका छन्।
Shares

प्रतिक्रिया