बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ।
प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ गरेको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरूमाथि दुई राउड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तिले जानकारी दिए।
‘लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पिछा गरिरहेका थियौँ। तर त्यहाँ चार जना रहेछन्’, उनले भने। दुई जनालाई प्रहरीले पक्राउ गरेपछि दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताए।
उनीहरूमध्ये कात्तिक कुमारको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। उनको दायाँ खुट्टामा गोली लागेको छ। लागुऔषध कारोबारीले प्रहार गरेको इट्टा लागेर एक जना प्रहरीसमेत घाइते भएका छन्।
उनलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ। उनीहरूसँगबाट प्रहरीले लागुऔषध बरामद गरेको छ। रासस

प्रतिक्रिया