रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ घर भइ हाल काठमाडौँको नागार्जुन नगरपालिका–४ बस्ने वर्ष ५५ का रवि बोम्जन र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ घर भइ कागेश्वरी मनोहरा नगरपालिका–८ की ५५ वर्षीया फुलमाया खत्री रहेका छन्।
फुलमायाले अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशहरूमा पठाइदिने भन्दै ११ जनाबाट ५१ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूले पीडितलाई लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनीहरूउपर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया