रौटहट घर भएका पवन राय यादवलाई सानैदेखि स्वास्थ्य सेवामा काम गर्न मन थियो। सेतो एप्रोन लगाएर बिरामीको सेवा गरेका डाक्टर र नर्स देखेपछि उनी आफू पनि त्यस्तै बन्ने कल्पना गर्थे। बिरामीका चहर्याइरहेका घाउमा मल्हम लगाइदिन उनी चाहन्थे।
उनले एसईईलगत्तै प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लिने छात्रवृत्ति कोटामा प्रवेश परीक्षा दिए। नाम निस्कियो। त्यसपछि त के चाहियो? काठमाडौँको साँखुस्थित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसमा भर्ना भइहाले।
अहिले उनी पीसीएल नर्सिङ तेस्रो वर्ष अध्ययनरत उनी अन्तिम परीक्षाको तयारीमा छन्। तीन वर्षे नर्सिङ पढिसकेपछि उनी अब स्टाफ नर्सका रूपमा कार्यक्षेत्रमा खटिनेछन्।

उनको कक्षाभरिमा नर्सिङ पढ्ने २ जना मात्र पुरूष छन्। सुरुमा महिला नै महिलाका बीचमा बसेर पढ्न असहज नलागेको होइन। केटी साथीहरूले जिस्क्याएजस्तो पनि लाग्थ्यो। तर विस्तारै सहज हुँदै गयो। केटा होस् या केटी, सबै साथी उस्तै लाग्न थाले।
‘त्यस्तो असहज मान्नुपर्ने रहेनछ, असहज मान्दा आफैलाई घाटा हुने रहेछ,’ उनी भन्छन्, ‘पहिलो वर्षमा धेरै छात्रा साथीहरूसँग थोरै छात्रहरू पढ्दा असहज लागे पनि दोस्रो वर्षसम्म सबै साथी बनिसक्ने भएकाले सहज हुँदै जान्छ।’
अब उनी थप उच्च शिक्षा हासिल गर्न विदेश जाने योजनामा छन्। विदेश जान सहज हुने ठानेर नै एईई उत्तीर्ण गरेपछि नर्सिङ रोजेको उनी बताउँछन्।
‘विदेशको डिग्री पनि हुन्छ, काम गरेर पैसा पनि कमाउन सकिन्छ,’ उनको बुझाइ छ, ‘भोलि गएर आफ्नो भविष्य राम्रोसँग बनाउन सकिन्छ भन्ने सोचले नै मैले यो विषय छानेको हुँ।’
जुम्लाका अंगद भण्डारीलाई त नर्सिङ पेसामा महिला बढी हुन्छन् भन्ने पनि थाहा थिएन। फुल्चोकी नर्सिङ क्याम्पस, बनेपा, काभ्रेपलाञ्चोकमा २०७८ मा भर्ना भएपछि कक्षाभरिमा एक्ला पुरूष विद्यार्थीका रूपमा आफूलाई पाए। सुरूमा त अकमक्क परे। तर, विस्तारै सबै कुरा थाहा पाए।
अहिले उनी तीन वर्षे नर्सिङ (डिप्लोमा) पढिसकेर लोक सेवा परीक्षाको तयारी गरिरहेका छन्। जसरी पनि सरकारी सेवामा प्रवेश गर्ने र विकट जिल्लामा गएर सेवा दिने उनको लक्ष्य छ। साथै, मानिसहरूको मनबाट नर्सको काम केटीले मात्र गर्छन् भन्ने धारणालाई हटाएर पुरुष नर्सले पनि बिरामीको स्याहार सुसार गर्न सक्छन् भनेर देखाउनु छ।
केही गरी लोक सेवामा नाम निस्किएन भने नर्सिङमै स्नातक (बीएन) गरेर स्नातकोत्तर अध्ययनको लागि विदेश जान चाहन्छन् उनी। ‘पढाइ सकिएपछि भने नेपालमै आएर काम गर्छु,’ उनको अठोट छ।

अंगद र पवन मात्र होइन, केही वर्षयता नेपालमा पुरूषहरू पनि नर्सिङ पढेर स्वास्थ्य सेवामा खटिँदै छन्।
नर्सिङमा महिला र पुरूष दुवै हुनुपर्छ भनेर सरकारले २०७५ सालदेखि पुरुषका लागि १५ प्रतिशतको कोटा नै छुट्याइदियो।
सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार, पहिलो वर्ष पीसीएल नर्सिङमा भर्ना हुने पुरुषको संख्या ५८ थियो। अहिले बढ्दै गएर २०८१ मा भर्ना हुने पुरुषको संख्या १८६ पुगेको छ।
नर्सिङ पढ्ने पुरूष क्रमशः बढ्दै गए पनि सरकारले तोकेको १५ प्रतिशतको हिस्सा भने पुग्न सकेको छैन। हालसम्म बढीमा ८ प्रतिशत पुरूष भर्ना भएका छन्। अर्थात्, २ हजार ४४० जनाको कुल सिटमा २ हजार २५३ महिला र १८६ कोटामा पुरुष भर्ना भएको पछिल्लो वर्षको विवरण छ।
अधिकारीका अनुसार, २०७५ देखि हालसम्म पीसीएल नर्सिङ पढ्ने पुरुषको संख्या जोड्दा ६२३ पुग्छ। यस वर्ष पीसीएल नर्सिङमा ६२ वटा कलेजले २ हजार ४८० जना विद्यार्थी भर्ना लिन पाउनेछन्। त्यसको १५ प्रतिशतले हिसाब गर्दा पुरुषको लागि आरक्षण कोटा ३७२ हुन्छ।

के छ अवसर?
सरकारी र निजी अस्पतालहरूमा स्टाफ नर्स अनिवार्य चाहिन्छ। हालैका वर्षहरूमा स्थानीय तहले र विद्यालयहरूले समेत नर्स राख्न थालेका छन्। त्यसैले नर्सका लागि अवसरका ढोका धेरैतिर खुला छन्।
नर्सहरूको अनुभवमा, पढाइकै क्रममा अभ्यास पनि गर्दै जाने भएकाले पढाइ सकिएपछि कुनै पनि किसिमको इन्टर्नसिप नगरी काममा खट्न सकिन्छ।
पीसीएल नर्सिङमा पहिलो वर्ष कक्षा कोठामा ५ महिना मात्र पढाइ हुन्छ र बाँकी समय अभ्यास गरिन्छ। यसैगरी दोस्रो वर्ष ६ महिना र तेस्रो वर्ष ३ महिना मात्र कक्षा कोठामा पढाइ हुन्छ। अन्य समय अस्पतालमा खट्नुपर्छ।
तीन वर्षे डिप्लोलाई प्लस टुसरहको मान्यता दिइएकाले स्नातक तह पनि अध्ययन गर्न पाइन्छ। कतिपयले विदेशमा पनि सजिलै काम पाइने र उच्च तहको पढाइ पनि सँगसँगै गर्न पाइने भएकाले पनि नर्सिङ पढ्ने गरेको पाइन्छ।

चार दशकअघि नै थियो पुरुष नर्सलाई कोटा
नर्सिङ अध्ययनका लागि पहिलोपटक विसं २०४३ सालमा पुरुष भर्ना लिइएको पाइन्छ। त्यसबेला १० प्रतिशत पुरुष कोटा छुट्याइएको थियो। तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) पढाउने संस्थामा ३० जना विद्यार्थीमध्ये ३ जना छात्र हुन्थे। पाँच विकास क्षेत्रका विराटनगर, काठमाडौँ, पोखरा, वीरगन्ज र नेपालगन्जमा अध्ययन गराइन्थ्यो।
शेरबहादुर महतारा पहिलो ब्याचका पुरुष नर्स हुन्। उनका अनुसार सो समयमा योजना अनुसार काम भने भएको थिएन। महिलाको लागि नर्सिङ शिक्षा पहिलेदेखि नै भएकाले उनीहरूको लागि छात्रावासको व्यवस्था थियो तर पुरुषका लागि थिएन। यस समस्यालाई त्यहीबेला समाधान गर्न त्यति चासो दिइएन।
महताराका अनुसार, त्यतिबेला नर्सिङमा पुरुषहरूको राम्रै आकर्षण थियो। नर्सिङ पढ्ने धेरै चाह हुँदाहुँदै पनि कम कोटाका कारण धेरै पुरुषले पढ्न नपाएको उनी सुनाउँछन्।
नर्सिङ पढ्न फर्म भरेपछि एसएलसीमा आएको अंकको आधारमा छनोट गरिन्थ्यो। हाल पीसीएल नर्सिङको सम्पूर्ण कार्य प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले गर्छ। पहिला त्रिभुवन विश्वविद्यालयमातहत पढाइ हुन्थ्यो।
पुरुष नर्सको सुविधाका लागि संघर्ष चलिरहेकै बेला २०४६ मा पुरुष कोटा नै स्थगित गरियो। चौथो ब्याचभन्दा पछि भर्ना नै लिन छाडियो।
चार ब्याचबाट लगभग ८० जनाहाराहारी पुरुषले नर्सिङ पढेको महतारा बताउँछन्।
नेपालमा कोटा नभएपछि कतिपय पुरुषले भारत गएर पनि नर्सिङ पढे। तर, त्यसको यकिन तथ्यांक उपलब्ध छैन। नेपाल नर्सिङ काउन्सिलमा हालसम्म दर्ता भएका पुरुष नर्सको संख्या १७२ रहेको छ।

सेवा सुविधामा साझा गुनासो
महिला वा पुरूष जो भए पनि एउटा साझा गुनासोचाहिँ सेवा-सुविधामा छ।
खासगरी निजी क्षेत्रका अस्पताल र क्लिनिकहरूले निकै कम तलबमा काममा लगाउने गरेका छन्। धेरै समय काममा खट्नुपर्ने, अत्यन्त न्यून रकममा काम गर्नुपर्ने भएकाले देशमा उत्पादित जनशक्ति पलायन हुनुपर्ने अवस्था छ।
‘मासिक १२-१४ हजार तलब लिएर पनि काम गर्न बाध्य रहेको स्थिति छ, जुन निकै लज्जास्पद विषय पनि हो,’ महतारा भन्छन्, ‘यस समस्यालाई समाधान गर्नको निम्ति नर्सिङ क्षेत्रका लागि पनि न्यूनतम पारिश्रमिक छुट्याएर समय-समयमा यस विषयमा अनुगमन तथा निगरानी गर्न जरुरी छ।’
नर्सहरूले कुनै पनि विषयमा आवाज उठाउदा त्यो आन्दोलन आजसम्म सफल हुन नसकेको अनुभव मिडवाइफ्री सोसाइटी अफ नेपालकी पूर्वअध्यक्ष लक्ष्मी तामाङसँग छ।
महिलालाई दबाउने किसिमको पितृसत्तात्मक सोचले पनि नर्सको पारिश्रमिक बढ्न नसकेको बुझाइ पनि कतिपय अगुवा नर्सहरूको छ। यसैकारण पनि पुरुषलाई यस पेसामा सँगसँगै सहभागी गराउनुपर्ने तर्क उनीहरू गर्छन्।
‘आज महिला नर्स थिचोमिचोमा परेका छन्। पुरुषले आफ्नो लागि आवाज उठाउन र न्यायको लागि विद्रोह गर्न पनि पछि नसर्ने स्वभावको हुने हुनाले यदि नर्सिङ पेसामा पनि पुरुषको संख्या धेरै भइदिएको भए यो विषयमा अझै सशक्त आवाज उठाउन र पारिश्रमिक बढाउन सकिन्थ्यो होला,’ मिडवाइफ्री सोसाइटी अफ नेपालकी पूर्वअध्यक्ष लक्ष्मी तामाङ भन्छिन्।
पुरुष र महिला दुवैले मिलेर यस्ता समस्याको विषयमा वकालत गरेर समाधान गर्न सहज हुने उनको भनाइ छ।
नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बा पेसामा पूर्णता र सेवा सुविधामा समानताका लागि परम्परागत सोच परिवर्तन गरिनुपर्ने ठान्छन्। भन्छन्, ‘पेसामा पूर्णताको लागि परम्परागत सोच परिवर्तन गरिनुपर्दछ। नर्सिङ एउटा सम्मानित पेसा हो, महिलाको पेवा होइन। यदि कसैले महिलाको मात्र पेसा भन्दछ भने त्यो महिलाप्रति गलत सोच राख्ने व्यक्ति सम्झनुपर्दछ। मानवीय सेवामा समर्पित पेसाका रूपमा जसले सम्मान गर्दछ, उसले महिला वा पुरूष नभनी केवल एक पेसाकर्मीका रूपमा हेर्दछ।’
Shares

प्रतिक्रिया