सिन्धुलीका एक युवक रोजगारीको प्रलोभनमा गएको जेठमा भारत पुगेका थिए। मिर्गौला किनबेचको कारोबार गर्ने बिचौलियाले उनलाई भारतमा होटलमा काम लगाइदिने आश्वसन पारेका थिए।
नेपालमा पनि मजदुरी गर्ने उनी यहाँभन्दा राम्रो कमाइ हुने आसले भारततर्फ बाटो लागे, तिनै बिचौलियाको भर परेर।
भारतको होटलमा काम गर्दा मासिक १० देखि २० हजार भारुसम्म कमाइ हुन्छ भनिएको थियो। गतजेठमा उनलाई तिनै बिचौलियाको समूहले काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर आकासेपुल नजिकबाट कलंकी पुर्याए।
तँहाबाट बसमा चढाइ बुटवल, भैरहवा हुँदै सुनौली बोर्डर पार गराए। त्यसपछि उनलाई भारतको चण्डीगढस्थित अपार्टेन्टमा पुर्याए। भोलिपल्ट एउटा क्लिनिकमा लगे। त्यहाँ उनको स्वास्थ्य चेकजाँच गरियो।
ती युवक अपार्टमेन्टमा बस्दा समिर नेपाली र राकेश नेपालीले रेखदेख गरिरहेका थिए। करिब १ महिना त्यहाँ राखेपछि उनको मिर्गौला निकाल्ने कुरा गरे। बिचौलियाहरूले ६ लाख रुपैयाँ मिर्गौला किन्ने सहमती भएको बताएका छन्। तर पीडितले भने आफ्नो सहमतीबिनै मिर्गौला निकालेको दाबी गर्दै जाहेरी दिएका छन्।
भारतमा मिगौला निकालिसकेपछि काठमाडौँ ल्याइदिने र यहीँ ६ लाख रुपैयाँ दिने उनलाई आश्वासन दिएका थिए। मानव बेचविखन अनुसन्धान ब्युरोका अधिकारी भन्छन्, ‘तर उनलाई काठमाडौँ ल्याएपछि पहिले कबुल गरेको रकम पनि दिएनन्।’
जाहेरवालाले भने मिर्गौला निकाल्न त्यतिबेलै इन्कार गरेको बताएका छन्। तर उनलाई मिर्गौला निकाल्न नमान्ने हो भने अहिलेसम्म लागेको सम्पूर्ण खर्च ब्यहोर्न भनियो। त्यसरी डर त्रासमा पारेर आफ्नो २०८२ साल साउन ९ गते वाँया मिर्गौला झिकिएको पीडितको दाबी छ।
मिर्गौला निकालिसकेपछि कुमार भन्ने राजकुमार परियार र समिर नेपालीको साथमा जाहेरवालासहित ४ जना पीडितहरू जिम्मा लगाई नेपाल पठाइएको थियो।
मानव बेचविखन अनुसन्धान ब्युरोका सूचना अधिकारी नरेन्द्र कुँवरका अनुसार उनीहरू साउन १५ गते काठमाडौँ आइपुगेका थिए।
तर काठमाडौँ ल्याइसकेपछि पहिले दिने भनिएको ६ लाख रुपैयाँ पनि नपाएको पीडितको गुनासो छ।
उनले मानव बेचविखन अनुसन्धान ब्युरोमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको हो। संगठित रुपमा कानूनविपरित मानव अङ्ग मिर्गौला झिकी मानव बेचविखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाएको ब्युरोले जनाएको छ।
घटनामा संलग्नहरूको खोजी गर्ने क्रममा ब्युरोले हालसम्म चार जनालाई पक्राउ गरेको छ। ती मध्ये तीन जनालाई थप अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिइसकेको छ।
बुधबार समिर नेपालीलाई काठमाडौँको मित्रनगर नयाँबसपार्कबाट, राकेश नेपालीलाई टोखा नगरपालिका ३ बानियाँटारबाट पक्राउ गरेको थियो। बिहीबार राजकुमार परियारलाई काभ्रेपलाञ्चोकको पाचँखालबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट थप तथ्य खुलेको ब्युरोका एसपी कुँवरले बताए। मिर्गौलाको अवैध कारोबारमा संलग्न गिरोहले नेपाल तथा भारतमा बसी संगठित रुपमा योजनाबद्ध तबरले मिर्गौला बिक्रि गर्ने गरेको खुलेको छ। पीडितहरूको कमजोर आर्थिक स्थितिको फाइदा उठाइ विभिन्न प्रलोभनमा पार्ने गरेको प्रहरीको दाबी छ।
पक्राउ परेका व्यक्तिसहितको गिरोहले ओसारपसार गर्ने, मेडिकल चेकजाँच गर्ने र भारतमा बसी आवश्यक सबै प्रबन्ध मिलाएर मिर्गौला निकाल्ने कार्य गर्दै आएको खुलेको छ।
मिर्गौला निकाल्नका लागि पीडितलाई आकर्षक रकमको प्रलोभन दिने गरेको पाइएको प्रहरीको दाबी छ। पीडितबाट झिकिएको मिर्गौला चर्को मूल्यमा बिक्री गरी मानव अंगको गैरकानुनी व्यापार गर्ने गरेको खुलेको एसपी कुँवरले बताए।
यस्ता गिरोहले अरु जिल्लाबाट अन्य दर्जनौँ मानिसहरूको मिर्गौलाको अवैध रुपमा बिक्री गरेको सूचनाका आधारमा अन्य पीडितहरूको पहिचान गर्ने कार्य जारी रहेको पनि प्रहरीको दाबी छ।
गिरोहले योजनाबद्ध तरिकाले संगठित रुपमा यस्ता घटना घटाएको पाइएकाले संगठित अपराधमा समेत अनुसन्धान अगाडि बढाएको र अन्य फरार प्रतिवादीहरूको खोजी कार्य जारी रहेको ब्युरोले जनाएको छ।
Shares

प्रतिक्रिया