धेरै विद्यार्थी भएका ठूला विद्यालय राम्रा हुन् भन्ने गलत भाष्य बन्दै गरेको बेला सार्वजनिक विद्यालयमा विद्यार्थी संख्या बढाउने होडबाजी र अस्वस्थ प्रतिस्पर्धा समेत चल्न थालेको छ। थुप्रै आधारभूत विद्यालयमा विद्यार्थीको खडेरी परेको पनि छ। संघदेखि थुप्रै स्थानीय सरकारले धेरै विद्यार्थी भएका माध्यमिक तहका विद्यालयमाथिको लगानीलाई प्राथमिकतामा राखेका छन्। साथै नेतृत्व राम्रो नहुँदा पनि आधारभूत विद्यालय संकटमा परेका छन्।
काठमाडौँको बालुवाटारस्थित पञ्चकन्या आधारभूत विद्यालय भने आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ। नियमित विषयगत पढाइमा सबै विद्यालयमा महत्व दिइन्छ नै। त्यसका अलावा यहाँ बालबालिकाकालाई व्यावहारिक सिकाइमा निकै जोड दिइएको छ।
कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरू हरेक दिन विद्यालय छुट्टी भएपछि आफ्नो कक्षाकोठा बढारेर, सफा गरेर मात्र घर जान्छन्। कक्षा शिक्षकले उनीहरूका लागि पालो लगाइदिन्छन्।
कक्षा ७ का छात्र समय तामाङ भन्छन्, ‘हामी पालैपालो सफा गर्छौं। स्कुलमा सफा गर्दा घरमा पनि सफा गर्छौं। आफ्नो कोठा पनि सफा गर्न सजिलो हुन्छ।’

कक्षा ३ देखि ८ सम्मका विद्यार्थीले खाजा खान घरबाट भाँडा ल्याउनुपर्छ। कसैले प्लेट र चम्चा त कसैले टिफिन बक्स ल्याउँछन्। खाजा खाएपछि आआफ्नो भाँडा सफा गरेर घर लान्छन्। संघीय सरकारले कक्षा ५ सम्मका लागि १५ रूपैयाँका दरले दिवा खाजाका लागि पैसा दिने गरेको छ। काठमाडौँ महानगरपालिकाले त्यसमा १५ रूपैयाँ थप गरेको छ। साथै कक्षा १० सम्म दिवा खाजाका लागि प्रतिविद्यार्थी तीस रूपैयाँका हिसाबले रकम उपलब्ध गराउँछ।
विद्यालयले दिवा खाजा पकाउन एक अभिभावकलाई केही पारिश्रमिक दिने गरेको छ। दिवा खाजा बाँड्न हरेक दिन पालैपालो विद्यार्थीले उनलाई सहयोग गर्छन्। यस्तै गरी विद्यालय छुट्टी भएपछि उनीहरू स्मार्ट बोर्डमा खोल लगाउँछन्। यसो गर्दा बोर्डमा धुलो नलाग्ने, नकोतरिने र जतन हुने विद्यार्थी बताउँछन्।
विद्यालयमा प्रशस्त ठाउँ नभए पनि गमलामा थरीथरीका फूलका साथै अन्य बिरुवा रोपिएका छन्। घर जानुअघि उनीहरू बिरुवामा पानी हाल्छन्। जिम्मेवार बनाइएकोले उनीहरू फूल, बिरुवा चुँडदैनन्। हेरचाह गर्छन्।
हरेक दिन खाजा खाने समयपछि केही विद्यार्थीहरूले शौचालय पनि सफा गर्छन्।

पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक विनिता रञ्जित भन्छिन्, ‘स्कुलमा बढार्यो भने घर पनि सफा राख्छन्। स्कुलका कक्षाकोठा, शौचालय सफा छ भनेर घरमा पनि त्यस्तै गर्न खोज्छन्। खाजा बाँड्न सहयोग गर्दा खानेकुरा कसरी दिने, हाल्ने भनेर सिक्छन्। पढाइ मात्रै सबै होइन। व्यावहारिक सिकाइ पनि महत्त्वपूर्ण हुन्छ।’
एकपटक मेयर बालेन (बालेन्द्र शाह) विद्यालय अवलोकनमा आउँदा शौचालयहरू हेरेको पनि उनले सुनाइन्।
‘फोहर छ कि के छ भनेर हेर्नुभएको होला, हाम्रा शौचालयहरू त सफा हुन्छन्,’ उनले हाँस्दै भनिन्।
प्रअ रञ्जितका अनुसार मेयर बालेन सबभन्दा पहिले ईसीडी कक्षामा गएका थिए।
उनी भन्छिन्, ‘त्यहाँ राखिएका ओछ्यान देखेर उहाँले जिज्ञासा राख्नुभएको थियो। हामीले खाजा खाएपछि बच्चाहरू एक घण्टा सुत्छन् भन्यौँ। उहाँले अचम्म मान्दै सुत्छन् र भन्नुभयो?’

पञ्चकन्याको ईसीडी फराकिलो, उज्यालो र सफा छ। शैक्षिक, खेल तथा अन्य सामग्रीहरू व्यवस्थित ढंगबाट राखिएका छन्। त्यहाँ पुग्दा बालबालिकाको मात्र होइन ठूलाको मन पनि रमाउँछ।
यस्तै पञ्चकन्याले थालनी गरेका अर्को फरक अभ्यास हो ‘जिरो क्लास’। बाहिर जिल्लाबाट आएका विद्यार्थीहरूको सिकाइस्तर कमजोर पाइएपछि यो कक्षा सुरु गरिएको हो।
विद्यालयले प्रवेश परीक्षाबिना जो पहिले आउँछ, उसलाई पहिले भर्ना लिने गरेको छ। माथिल्लो कक्षामा भर्ना भएका विद्यार्थीलाई ‘क’देखि ‘ज्ञ’ सम्म लेख्न नआउने अवस्था समेत पाइयो।
उनीहरूलाई अरू विद्यार्थीसँगै राखेर पढायो कोर्स अगाडि नजाने, उनीहरूलाई मात्र फोकस गर्दा जान्ने विद्यार्थीले वाक्क मान्न थाले। कक्षामा बाधा पुग्न थाल्यो।
प्रअ रञ्जित भन्छिन्, ‘हामीले कक्षा १ देखि ७ सम्मका ३०-३५ जना विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर विद्यालय समयमा छुट्टै कक्षा सुरु गर्यौँ। सबैले खाली पिरियडमा पढायौँ। उनीहरूको लेभल अनि आवश्यकताअनुसार सिकायौँ। उनीहरूको सिकाइ सुधारका लागि मेहनत गर्यौँ।’

यसो गर्दा उनीहरूले सोच्दै नसोचेको परिणाम प्राप्त भयो।
‘हामीले त सोचेका नै थिएनौँ कि बच्चाहरूमा यति राम्रो प्रगति गर्न सक्छन् भनेर। पछि उनीहरू आफ्नो कक्षामा आएर साथीहरूसँग बसेर पढे र कक्षा अपग्रेड पनि भए। यो अभ्यास साह्रै राम्रो भयो। आखिर विद्यार्थीले गर्न सक्ने रहेछन् नि,’ उनले भनिन्।
शिक्षकहरूले ती विद्यार्थीहरूलाई सोध्दा उनीहरूको विद्यालयमा राम्ररी पठनपाठन नहुने रहेछ। परीक्षाको बेला बोर्डमा उत्तर लेखिदिने र सार्न लगाइँदो रहेछ।
ती विद्यार्थीका लागि सुरु गरिएको कक्षालाई जिरो क्लास अर्थात शून्य कक्षा किन भनिएको हो त?
प्रअ रञ्जित यसरी प्रस्ट पार्छिन्– ‘हामीले अतिरिक्त कक्षा भनेर सुरु गर्ने सोचेका थियाँै। तर माथिल्लो कक्षाका बच्चाहरूलाई क–ज्ञ, ए–जेडसम्म पनि लेख्न आउँदैनथ्यो। कक्षा १ सँग बसेर पढ्दा उनीहरूलाई हामीलाई यति पनि आउँदैन भन्ने लागेछ। अनि उनीहरूले आफैँ जिरो क्लास भने। उनीहरूलाई छिटो सिक्नुपर्छ। बढी मेहनत गर्नुपर्छ भन्ने भयो। मेहनत गरे। यसरी नामाकरण भयो।’

काठमाडौ महानगरपालिका वडा नं ४ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ८ सम्म २ सय ६३ जना विद्यार्थीहरू छन्। ईसीडी शिशु कक्षादेखि सबै कक्षामा स्मार्ट बोर्ड छन्। सबै शिक्षकहरू सूचना तथा सञ्चार प्रविधि आईसीटी प्रयोग गर्छन्। पाठ योजनाअनुसार शैक्षिक सामग्री तयार गर्नेदेखि नयाँ जानकारी खोज्न उनीहरू यसमा अभ्यस्त भइसकेका छन्।
कोरोनाकालमा आईसीटीको आवश्यकता र महत्त्व बुझेपछि यसको प्रयोगबारे विद्यालयमा छलफल भयो। एक संस्थाले शिक्षकहरूलाई ल्यापटप किन्न ४० प्रतिशत सहयोग गर्यो। ६० प्रतिशत उनीहरूले हाले। र सबै शिक्षकले ल्यापटप किने।
प्रअ रञ्जित भन्छिन्, ‘एक सिनियर शिक्षकले मलाई ल्यापटप चलाउन आउँदैन। म स्मार्ट बोर्डमा पढाउन सक्दिनँ भन्नुभयो। जागिर खान्नँ भन्नुभयो। हामी सबै मिलेर सिकौँ भनेँ। सिक्दै सिकाउँदै अगाडि बढ्यौँ। अहिले उहाँ पोख्त हुनुहुन्छ। अरुलाई सिकाउनुहुन्छ। उहाँ केही महिनामा रिटायर्ड हुँदै हुनुहुन्छ।’
कतिपय विद्यालयमा सिनियर शिक्षकलाई सूचना प्रविधि प्रयोग गर्न जान्दैनन् भनेर खिसिट्युउरी गर्ने गरिन्छ। प्रअ विनिता रञ्जित भन्छिन्, ‘उमेर गइसक्यो, उसले जान्दैन भन्नु गलत हो। सिक्ने चहाना राख्यो भने उमेर केही होइन। सिक्न, गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण पञ्चकन्या हो।’
विद्यालयमा आवश्यकताअनुसार सिकाइका लागि सकारात्मक वातावरण बनाउनु नेतृत्व कौशलको महत्त्वपूर्ण पाटो हो। यसको उदाहरण पञ्चकन्याले दिएको छ।
प्रअ रञ्जित भन्छिन्, ‘उहाँलाई आउँदैन, सक्नुहुन्न भनेर निरुत्साहित गरेको भए उहाँले कहिल्यै सिक्नुहुन्नथ्यो। अर्को कुरा सिनियरलाई पनि नयाँ कुरा सिकाउन वातावरण बनाउनुपर्छ। जुनियरबाट हामीले सिक्नुपर्छ। जुनियर शिक्षकले नै हामीलाई आईसीटीमा धेरै सिकाउनुभयो। सिनियर भन्दैमा सानोबाट सिक्न हुन्न भन्ने हुँदैन।’
कतिपय विद्यालयमा प्रधानाध्यापकले म शक्तिशाली हुँ भनेर शिक्षकहरूलाई होच्याएर व्यवहार गरेको देखिन्छ। सबैका अगाडि आलोचना गर्ने गरेको पाइन्छ। कतै राजनीतिक आस्था, जाति, भूगोल र क्षेत्रको आधारमा जिम्मेवारी तथा अवसर दिने गरिएको हुन्छ। यस्ता कारणले पनि विद्यालयमा राम्रो टिम बन्न नसकेको देखिन्छ।

आफ्नो विद्यालयमा यस्तो वातावरण नभएको उनको भनाइ छ। भन्छिन्, ‘प्रअले म नेतृत्वमा बसेको भनेर अहं पाल्न हुँदैन। आफैँ एक्लैले सबै गर्छु भनेर लाग्यो भने केही गर्न सकिँदैन। कार्यविभाजन गरेर जिम्मेवारी दियो भने सहज हुन्छ। हाम्रोमा नयाँ शैक्षिक सत्रको सुरुवातमा जिम्मेवारी बाँडफाँट हुन्छ।’
विद्यालयमा हुने हर हिसाब पारदर्शी हुनुपर्छ भन्नेमा उनको विशेष जोड छ। यसो भयो भने शिक्षक, अभिभावक र समुदायले विश्वास गर्छन् र विद्यालय राम्रो बनाउन सकिन्छ भन्ने उनको विश्वास छ।
पञ्चकन्या आधारभूत विद्यालयमा सिकाइको वातावरण कसरी बनाइएको छ? स्थानीय सरकारको भूमिका के छ? यससम्बन्धमा प्रअ विनिता रञ्जितसँग नेपालखबरले गरेको भिडिओ कुराकानी

प्रतिक्रिया