समाज


सप्तकोसीमा बहाब उच्च, उदयपुरको बेलका क्षेत्रमा जोखिम

सप्तकोसीमा बहाब उच्च, उदयपुरको बेलका क्षेत्रमा जोखिम

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८२ मंगलबार ७:४२, काठमाडौँ

पूर्वी पहाडी जिल्लामा लगातार भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाब बढेको छ। कोसी ब्यारेज भएर बग्ने पानीको बहाबमा सोमबार बिहानैदेखि नै उतारचढाव भइरहेको छ। 

सोमबार बिहान ६ बजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी बगेको थियो। सोमबार राति ८ बजे गरिएको मापनअनुसार पनि ब्यारेजमा एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी मापन भएको थियो। 

सोमबार राति १० बजेको मापनअनुसार एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। 

अहिले ब्यारेजका ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको छ। 

कोसी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ। सोहीअनुसार रातोबत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

विसं २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो।

यसैबीच सप्तकोसीमा पानीको बहा उच्च भएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा परेको छ। बेलका–२, ३, ६ ८ र ९ नम्बर वडाका सप्तकोसी आसपासका गाउँघर बाढी तथा डुबानको जोखिममा परेका हुन्।

बेलका–२, ३, ६ ८ र वडा नम्बर ९ सप्तकोसी आसपासका गाउँघर क्षेत्र नदी कटानको जाखिममा पर्न थालेका बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताक्ष्न्। 

नदीको बहाव बढ्दै गएपछि गाउँ कटानको जोखिम हुनसक्ने भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षाकर्मीको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार बेलकाको सप्तकोसीको कटानयुक्त क्षेत्रको अवलोकन र स्थलगत भ्रमण गरेर जानकारी लिइएको छ। अवलोकन गरी स्थानीयवासीलाई सतर्क रहन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरिएको छ। 

बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाब कोसी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयलाई सतर्क रहेर बस्न भनिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रशासनले र सुरक्षाकर्मीको टोलीले कुनै विपद्का घटना भएमा उद्धार तथा राहतमा जुट्न पूर्णतयारी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक हरिहरनाथ योगीले बताए। 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ। जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिलगायतको टोलीले स्थलगत अवलोकन गरी पूर्वतयारी थालिएको नगरप्रमुख अशोक कार्कीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad